Skip to content

‘नेपाललाई युक्रेन बनाउने मिसन चलाइएको थियो, म र माधवजीले जोगायौँ’ : प्रचण्ड

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनलगत्तै आफू र माधव नेपालले सहजीकरण गरेको कारण देश ठूलो राजनीतिक संकटबाट जोगिएको बताएका छन्।

बागलुङको बुर्तिबाङमा कार्यकर्तासँगको जनसंवादमा प्रचण्डले तत्कालीन समयमा अन्तरिम सरकार र चुनाव विकल्पको रूपमा देखिएकाले उनीहरूले सहजीकरण गरेको बताए।

प्रचण्डका अनुसार, सतही रूपमा जेन–जी आन्दोलन जलाउने र लुट्ने मात्र देखिएको भए पनि भित्री रूपमा संविधान खारेज गरेर कठपुतली सरकार बनाइ नेपाललाई युक्रेनजस्तो बनाउने “मिशन” चलाइएको थियो। उनले भने, “त्यो बेला समाधानका लागि विकल्पका रूपमा अन्तरिम सरकार र निर्वाचन नै हुने देखियो। म र माधव नेपालले सहजीकरण गर्यौं। हामीले विवेक नपुर्याएको भए त्यो बेला जलाउने, लुट्ने त थियो रछ। नांगो आँखाले देख्यौँ। संविधान खारेज, राष्ट्रपति संस्थालाई खारेज गराई कठपुतली सरकार बनाएर युक्रेनजस्तो बनाउने मिसन थियो। त्यसबाट बचाउन हामीले सहजीकरण गर्यौं।”

प्रचण्डले संविधान र राष्ट्रपति संस्था जोगाउन सफल भए पनि केही घाइते भएको उल्लेख गरे। उनले भने कि सुरुमा चुनावतर्फ देश जाने हो कि नजाने भन्ने शंका थियो, तर अहिले पूरा मुलुक र जनता चुनावतर्फ केन्द्रित भएको बताए।

उनले थपे, “कतिपयले सर्वपक्षीय सरकार वा संसद पुनःस्थापनाको कुरा गरिरहेका थिए। हामी मात्र हौं, जनतामा जाने विकल्प नै हो भनिराख्यौं। आज हामीलाई खुशी छ कि सबै राजनीतिक दल र आम जनता चुनावका लागि तयार भएको अवस्था आएको छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार