Skip to content

बंगलादेशका प्रधानमन्त्रीको शपथमा नेपालसहित १३ देशका राष्ट्र प्रमुखलाई निम्तो

कालोपाटी

१८ घण्टा अगाडि

काठमाडौँ । बंगलादेशमा भोलि हुन लागेको प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट ओम बिरला र विक्रम मिस्री ले प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालय ले जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी भने कार्यक्रममा सहभागी नहुने बीबीसी हिन्दीलाई उद्धृत गर्दै जनाइएको छ। मन्त्रालयद्वारा जारी वक्तव्यमा लोकसभा अध्यक्ष बिरलाको सहभागिताले भारत–बंगलादेशबीचको गहिरो र दीर्घकालीन मित्रता तथा साझा लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने उल्लेख छ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बहुमतसहित सरकार गठन गर्न लागेको हो। पार्टी अध्यक्ष तारिक रहमान अब बंगलादेशका नयाँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ। ढाकास्थित अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुस ले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटान का सरकार प्रमुखलाई समारोहमा निमन्त्रणा पठाउनुभएको खबरमा उल्लेख छ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार यसपटक परम्परा तोड्दै शपथग्रहण समारोह राष्ट्रिय संसद भवन परिसरमा आयोजना हुनेछ। नवनिर्वाचित सांसदहरूको शपथ भोलि बिहान १० बजे र मन्त्रिपरिषद्को शपथ दिउँसो ४ बजे हुने बताइएको छ।

३ सय सदस्यीय संसदमा बीएनपी गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि दक्षिण एशियाली राजनीति तथा भारत–बंगलादेश सम्बन्धमा नयाँ समीकरण बन्ने आँकलन गरिएको छ। प्रधानमन्त्री मोदीले चुनावी परिणाम सार्वजनिक भएपछि तारिक रहमानलाई फोन गरी बधाई दिनुभएको थियो, जसलाई दुई देशबीच सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार