Skip to content

‘देशभक्त शक्तिलाई जिताऔँ, गणतन्त्र सुदृढ बनाऔँ’ : खनाल

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई विजयी गराउन आह्वान गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशमार्फत उनले राष्ट्रलाई थप सङ्कटतर्फ जानबाट रोक्न आसन्न निर्वाचनको सही उपयोग गर्नुपर्ने बताएका हुन् ।

निर्वाचनलाई अवसर र चुनौती दुवैका रूपमा व्याख्या गर्दै उनले मतदाताले देशको दीर्घकालीन भविष्यलाई ध्यानमा राखी निर्णय गर्नुपर्ने उल्लेख गरेका छन्। खनालले चुनावमा ‘नयाँ’ भनिने शक्तिहरूसँग स्पष्ट नीति, कार्यक्रम वा ठोस प्रतिबद्धता नदेखिएको टिप्पणी गर्दै लामो समयदेखि राजनीति गर्दै आएका दलहरूले विगतका कमजोरी सच्याएर नयाँ सङ्कल्पसहित अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

२००७ साल फागुन ७ गते निरङ्कुश राणा शासनविरुद्ध लोकतन्त्रको विजय भएको ऐतिहासिक दिनको स्मरण गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। साथै, प्रजातन्त्र प्राप्तिका आन्दोलनमा जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले लोकतान्त्रिक क्रान्ति, संविधानसभा, नयाँ संविधान र आवधिक निर्वाचनजस्ता महत्वपूर्ण उपलब्धि हासिल भए पनि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब दुई दशक पुग्न लाग्दा मुलुक अपेक्षित समृद्धितर्फ अघि बढ्न नसकेको बताएका छन्। भूमि सुधार, कृषिको आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता औँल्याउँदै उनले अब स्पष्ट नीति, दृढ प्रतिबद्धता र जनमुखी कार्यक्रमसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार