काठमाडौँ ।पूर्वी राज्य मिनास जेरेइसमा अस्ति सोमबार परेको ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ ।
बीबीसीका अनुसार सबैभन्दा धेरै क्षति जुइज दि फोरा शहरमा भएको छ, त्यहाँ १८ जनाको ज्यान गएको पुष्टी भएको छ । त्यसैगरी उबा शहरमा ७ जनाको ज्यान गएको छ । रातको समयमा धेरै घरहरू भत्किँदा धेरै मानिस बेपत्ता भएका छन् । उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले भग्नावशेष र हिलो हटाउँदै हराइरहेकाहरूको खोजीकार्य गरिरहेका खबरमा उल्लेख छ ।
ब्राजिलका राष्ट्रपति लुइज इन्सियो लुला दा सिल्भाले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले जुइज दि फोरामा आपतकाल घोषणा गर्दै राहत, उद्धार तथा पुनर्निर्माणमा तीव्र रूपमा परिचालन गरिएको बताउनुभएको छ । जुइज दि फोरामा मात्रै झण्डै साढे ४ सय परिवार घरबारविहीन भएका छन् । नगरका मेयर मार्गारिदा सालोमाओले यो घटनालाई आफ्नो पाँच वर्षे कार्यकालकै सबैभन्दा दुःखद क्षण भन्दै तीन दिन शोक मनाउने घोषणा गर्नुभएको छ ।
राज्यका गभर्नर रोमेउ जेमाले घटनालाई दुःखद दिन भन्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउनुभएको छ । अधिकारीहरूका अनुसार यसवर्ष फेब्रुअरी महिनामा जुइज दि फोरामा इतिहासकै सबैभन्दा ठूलो वर्षा मापन भएको छ ।
त्यहाँको राष्ट्रिय मौसम निकायले मिनास जेरेइस, रियो दि जेनेरोसहित १२ भन्दा बढी राज्यमा ठूलो वर्षाको चेतावनी जारी गरेको छ । यसअघि सन् २०२४ मा रियो ग्रान्दे दो सुल राज्यमा आएको बाढी र पहिरोका कारण झन्डै २ सय जनाको ज्यान गएको थियो भने २० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्