Skip to content

‘एक रुपैयाँ घुस लिएको प्रमाण कसैले दिए जीवनभर त्यसैको घरमा नोकर बस्छु’ : राजेन्द्र लिङ्देन

कालोपाटी

९ मिनेट अगाडि

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कसैले आफूले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गरे सारा राजनीतिक जीवन छोडेर त्यसको नोकर बस्न तयार रहेको बताएका छन्।

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सुशासनको सवालमा आफू प्रतिबद्ध र इमानदार रहेको बताए।

उनले भने, ‘कसैले राजेन्द्र लिङ्देनले एक रुपैयाँ भ्रष्टाचार गरेको छ, र मैले कुनै काम गराउँदाखेरि एक रुपैयाँ घुस लिएको छु अथवा मसँग घुस लिएको छ भन्ने प्रमाणित गर्छ भने म सारा राजनीतिक जीवन छोडेर त्यसको नोकर बस्न तयार छु भनेर ललकारेको मान्छे हुँ म। हामी सुशासनको सवालमा पूर्णरुपमा प्रतिबद्ध र इमानदार छौँ मात्र होइन, हामीले मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जातो पनि चलाउँछौँ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार सम्बन्धी छानबिनको फाइलबाट आफूले अघि बढाएको बताए।

उनले भने, ‘लेखा समितिले पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारको बारेमा छानबिन गर्ने दुइटा उपसमिति एकैसाथ बनायो, एकैदिन बनायो। पोखरामा हामीले छानबिन गर्‍यौँ, परिणाम दियौँ। र आज कोही खोरमा छन्, कोही खोरमा जाने लाइनमा छन्। तर भैरहवाको त फाइल पनि खुलेन। अत्तोपत्तो पनि छैन।’

उनले २०४६ सालदेखि अहिलेसम्म आफूहरुले कहिल्यै निषेधको राजनीति नगरेको बताए।

उनले भने, ‘आज देश जबर्जस्त चुनावको बाटोमा गएको छ। हामीले एउटा प्रजातान्त्रिक दल हुनको नाताले यो चुनावमा भाग्नुभन्दा सहभागी हुन उचित हुन्छ भन्ने निष्कर्षमा पुगेर अहिले यो चुनावलाई उपयोग गर्ने र एउटा आन्दोलनकै अंशको रुपमा लिएर आज तपाईँहरुको बिचमा आएका छौँ।’

उनले यही ५–७ दिनभित्रैमा पनि राष्ट्रिय शक्तिहरुका बिचमा कुनै नयाँ सहमति गरेर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने प्रस्ताव राखे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार