Skip to content

रुकुम पश्चिमलाई राष्ट्रिय नमूना बनाउने जनार्दन शर्माको प्रतिबद्धता

कालोपाटी

१५ घण्टा अगाडि

काठमाडौँ । जनार्दन शर्माले रुकुम पश्चिमलाई विकास, सुशासन र समृद्धिको राष्ट्रिय नमूना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शर्माले आफू स्पष्ट खाका र दीर्घकालीन दृष्टिकोणसहित निर्वाचनमा होमिएको बताउनुभयो।

रुकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै शर्मालाई समर्थन गर्ने घोषणा गर्नुभयो। केसीले मतदाताको सुझाव र रुकुमको वृहत्तर हितलाई ध्यानमा राखेर समर्थन गर्ने निर्णय लिएको बताउनुभयो।

शर्माले रुकुमलाई गरिबी र बेरोजगारीबाट मुक्त गराउने संकल्प दोहोर्‍याउँदै विकास र सामाजिक न्यायलाई आफ्नो मुख्य एजेन्डा बनाएको स्पष्ट पार्नुभयो। उहाँले आफू कुनै एक दल विशेषको मात्र नभई सम्पूर्ण रुकुमेलीको ‘साझा उम्मेदवार’ भएको दाबी गर्नुभयो।

यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पनि शर्मालाई समर्थन गरिसकेको जनाइएको छ। निर्वाचन मैदानमा नेपाली काँग्रेसका राजु केसी, नेपाल कम्युनिष्ट पार्टीका गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही प्रतिस्पर्धामा रहनुभएको छ।

शर्माले मतदातालाई सम्बोधन गर्दै विकास र समृद्धिको पक्षमा एकजुट हुन आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, “रुकुमलाई देशकै मोडल जिल्ला बनाउने मेरो स्पष्ट दृष्टिकोण छ। हाम्रो लडाइँ गरिबी र बेरोजगारीविरुद्ध हो। सुशासन र सामाजिक न्याय सुनिश्चित गर्दै उज्ज्वल भविष्य निर्माण गर्नु नै मेरो लक्ष्य हो। आगामी निर्वाचनमा ‘आँखा’ चिन्हमा मतदान गर्न सम्पूर्ण मतदातासमक्ष हार्दिक आग्रह गर्दछु।”

यता, केसीले शर्मालाई ‘साझा नेतृत्व’का रूपमा स्वीकार गर्दै रुकुमको विकासका लागि सबै राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारहरूलाई समेत एकजुट हुन आह्वान गर्नुभयो। उहाँले जनार्दन शर्मा सबैभन्दा स्थापित र अनुभवी उम्मेदवार रहेको दाबी गर्दै साझा समर्थन नै अहिलेको आवश्यकता भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार