Skip to content

नेपाल आइडल जुनियर अप्रिलको पहिलो हप्तादेखि प्रसारण हुने

कालोपाटी

११ मिनेट अगाडि

काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो नेपाल आइडल प्रस्तुत गर्दै आएको एपी वान टेलिभिजन ले अब नेपाल आइडल जुनियर को पहिलो संस्करण प्रसारण गर्ने भएको छ । हाल नेपाल आइडल जुनियर का लागि डिजिटल अडिसन सञ्चालन भइरहेको छ। डिजिटल अडिसनबाट छनोट भएका प्रतिभाहरूलाई मेगा अडिसनमार्फत जज राउन्डमा सहभागी गराइनेछ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन् । नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदीयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गरिसकेको छ। सोही सफल यात्रालाई निरन्तरता दिँदै नेपाल आइडल जुनियर लाई पनि विशेष र प्रभावशाली बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

यस सिजनको निर्णायक मण्डलमा सुगम पोखरेल, सुवानी मोक्तान र अस्मिता अधिकारी रहनेछन्। कार्यक्रममा प्रस्तोताका रूपमा डाक्टर शरिसा श्रेष्ठ र गायक महेश काफ्ले रहनेछन्। त्यस्तै नेपाल आइडलका ट्यालेन्ट हेड तथा म्युजिक डिरेक्टरका रूपमा मीन गुरुङ रहेका छन्। नेपाल आइडल जुनियरको डाइरेक्टरको रुपमा एलेन श्रेष्ठ रहेका छन्।

नेपाल आइडलले सन् २०१७ मा आफ्नो यात्रा सुरु गरेको थियो। हालसम्मका विजेताहरूमा बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर, करण परियार र गङ्गा सोनम रहेका छन्। यस कार्यक्रमले नेपाली संगीत प्रेमीहरूलाई एउटै मालामा गाँस्दै नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

नेपाल आइडल जुनियर को भोटिङ पार्टनरका रूपमा खल्ती रहेको छ। कार्यक्रमको प्रसारण एपी वान टेलिभिजन बाट हुनेछ। समयअनुसार केही परिमार्जन र नवीनता समेट्दै आइडल जुनियरको पहिलो संस्करण प्रस्तुत गर्न लागेको हो, जसले नेपाली दर्शकमाझ अझ गहिरो प्रभाव पार्ने विश्वास लिइएको छ। नेपाल आइडल जुनियर अप्रिलको पहिलो हप्तादेखि एपी वान टेलिभिजनमार्फत प्रसारण हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार