काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचन नै देशको एक मात्र विकल्प भएको र यसले राष्ट्रलाई स्थायित्व र समृद्धिको बाटोमा लैजाने विश्वास व्यक्त गर्नुभएको छ ।
चितवनमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले निर्वाचन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । असहज परिस्थितिका बीच आयोजना गरिएको यस निर्वाचनलाई सफल पार्ने जिम्मेवारी सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र निर्वाचन आयोगको भएको उहाँले बताउनु भयो । यो निर्वाचनलाई सामान्य मात्र नभएर असामान्य र राष्ट्रको भविष्यका लागि निर्णायक भएको टिप्पणी गर्नुभयो । उहाँले आम नेपाली जनतालाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन अपील गर्नुभयो ।
निर्वाचनको नतिजाबारे बोल्दै उहाँले कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना नरहेको बताउनु भयो । उहाँकाअनुसार नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
उहाँले भन्नुभयो, ‘यो निर्वाचन अलि असहज परिस्थितिमा आयोजना गरिएको निर्वाचन र यसलाई सफल पार्ने जिम्मेवारी हामी सबै राजनीतिक दल, नागरिक समाज अनि सम्बन्धित सबै निकाय सुरक्षा निकायदेखि निर्वाचन आयोग सबैको थियो ।
तपाईंहरूलाई थाहा छ, मैले र मेरो नेतृत्वको पार्टीले सुरुदेखि नै निर्वाचन नै विकल्प हो, अरू छैन भन्ने कुरामा दृढ अडान लिएर हामी अगाडि बढिराख्यौँ। आज आएर निर्वाचनमा मतदान गर्दा र अब सफलताको सन्निकट हामी पुगिसक्या छौँ, म धेरै खुशी छु पहिलो कुरा । दोस्रो कुरा यो निर्वाचन सफल पार्नु यो राष्ट्रको लागि र जनताको लागि, स्थायित्वको लागि र अगाडि समृद्धिको यात्रा सुरु गर्नको लागि धेरै महत्वपूर्ण निर्वाचन हुन गएको छ । यो सामान्य मात्र नभएर अलि असामान्य निर्वाचन हुन गएको छ। त्यस अर्थमा पनि म खुशी छु कि यो निर्वाचन अब सफल हुन गएको छ ।
म आज भर्खर मतदान गरेर निक्लेको छु, तपाईंहरू सबैलाई थाहा छ म रुकुम पूर्वबाट यो पटक उम्मेदवार त्यहाँ छु र म यहाँबाट सिधै रुकुम पूर्व जाँदै पनि छु । अब त्यसकारण पहिलो कुरा म यो तपाईंहरू चाहिँ सबै पत्रकार साथीहरूमार्फत् आम नेपाली जनतालाई सक्रियताका साथ, उत्साहका साथ, उत्सवको रूपमा नै यो निर्वाचनमा सहभागी हुन म अपील गर्न चाहन्छु र जति धेरै जनताको उपस्थितिमा निर्वाचन अगाडि बढ्छ यो प्रक्रिया अगाडि बढ्छ, सहभागिता जति धेरै हुन्छ त्यति नै यसले दिने नतिजा पनि स्थायित्वको निम्ति महत्वपूर्ण हुन्छ । त्यसकारण म सबैलाई अपील पनि गर्न चाहन्छु । अब दलहरूको अवस्थाबारे भन्दा पनि मेरो त हेर्नुस् सुरुदेखि पत्रकार साथीहरू तपाईंहरूलाई थाहा छ, सुरुदेखि निर्वाचन सफलतापूर्वक सम्पन्न हुन पर्यो।
स्वच्छ निष्पक्ष र धाँधलीरहित ढंगले निर्वाचन हुन पर्यो र त्यसको नतिजा अनुसार देश अगाडि बढ्न प¥यो भन्नेमा जोड हो। कुन दलको कति आउला भन्नेतिर मेरो धेरै होइन। तैपनि तपाईंहरूको जिज्ञासा छ मलाई थाहा छ हैन, अब त्यस अनुसार भन्दा हाम्रो चाहिँ राम्रै आउँछ भन्नेमा छु म । मेजोरिटी त मैले धेरै चोटी भनेको छु कसैको पनि आउने स्थिति छैन । हाम्रो निर्वाचन प्रणालीले पनि अहिलेसम्मको समग्र परिस्थिति हेर्दा पनि हाम्रो कसैको बहुमत आउने म देख्दिनँ। अब पहिलो, दोस्रो, तेस्रो, चौथो को(को हुने भन्ने कुरा चारवटा पार्टीको बीचमा नै प्रतिष्पर्धा हुने कुरा नै मैले बुझे अनुसार देशव्यापी जति मैले रिपोर्ट लिएको छु । हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीको बीचमा नै मुख्य प्रतिष्पर्धा हुन्छ।
हेरौँ भोलि पर्सि थाहा भइहाल्छ पहिलो दोस्रो को हुन्छ । नयाँ र पुरानो जो भन्ने जो भाष्य बनाइएको छ यो देशको हितमा छैन। नयाँ र पुरानो होइन, सही र गलत भन्ने भाष्य बनाउनुपर्यो। तपाईं पत्रकार साथीहरूले पनि र सबैसँग म अपील गर्छु यो सवाल नयाँ र पुरानोको हुँदै होइन । सही र गलतको। को राष्ट्रको पक्षमा, को जनताको पक्षमा, को लोकतन्त्रको पक्षमा, को प्रगतिको पक्षमा भनेर हेर्नुपर्ने हुन्छ । कसको चाहिँ योजना के, कार्यक्रम के भनेर हेर्नुपर्छ। र त्यसको आधारमा नयाँ(पुरानो भन्ने हुने हो। त्यसकारण जो अहिले नयाँ र पुरानो भन्ने भाष्य जसरी बनाइएको छ त्यो देशको र लोकतन्त्रको हितमा छैन। सबैले आफ्नो विवेकको प्रयोग गरौँ। सहीको पक्षमा उभिऔँ। सही जो छ, देशको पक्षमा जो छ त्यसमा उभिऔँ ।’
पछिल्लो समय चर्चामा रहेको ‘नयाँ र पुरानो’ दलको भाष्यप्रति असन्तुष्टि जनाउँदै दाहालले यो देशको हितमा नभएको तर्क गर्नुभयो । उहाँले नयाँ वा पुरानो भन्दा पनि ‘सही र गलत’ को भाष्य बनाउनुपर्नेमा जोड दिनुभयो । चितवनमा मतदान गरेलगत्तै उहाँ आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ यस पटक रुकुम पूर्वबाट उम्मेदवार हुनुहुन्छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्