Skip to content

एमाले महासचिवले दिए रास्वपा र बालेनलाई बधाई, जनताको अपेक्षा अनुसार काम गर्न सुझाव

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर–२का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आम निर्वाचन २०८२ मा प्राप्त जनादेशको सम्मान गर्दै विजयी उम्मेदवारहरूलाई बधाई दिएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस पटकको निर्वाचनमा जनताले परिवर्तनको अपेक्षासहित रास्वपालाई मत दिएको उल्लेख गरेका हुन्। पोखरेलले लेखेका छन्, ‘आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको छ। जनताले ‘नयाँबाट केही हुन्छ कि’ भन्ने विश्वासका साथ अभिमत दिएका छन्।’

उनले जनविश्वासअनुसार अघि बढ्न रास्वपाका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी भएका सम्पूर्ण प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

दाङ–२मा आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा पार्टीका नेता–कार्यकर्ताले निकै मेहनत गरेको उल्लेख गर्दै उनले मतदाताको साथ र सहयोगप्रति आभार व्यक्त गरेका छन्। तर परिवर्तनको लहरका कारण आफूहरूको प्रयास सफल हुन नसकेको उनले स्वीकार गरेका छन्।

‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन’ उनले उल्लेख गरेका छन्।

पोखरेलले आफ्नो निर्वाचन क्षेत्र दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्य निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना समेत गरेका छन्। उनले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गर्दै निराश नहुन आग्रह गरेका छन्।

‘जिन्दगी हो-हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ भन्ने गीतको भावझैँ लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हो। निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा हार्दिक अनुरोध गर्दछु’ पोखरेलले भनेका छन्।

यस पटकको आम निर्वाचनमा देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको उल्लेख्य सफलता देखिएपछि पुराना राजनीतिक दलका शीर्ष नेताहरूले पनि त्यसलाई जनताको परिवर्तन चाहनाको संकेतका रूपमा व्याख्या गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार