Skip to content

सर्लाही-३मा रास्वपाका नरेन्द्र साह विजयी

कालोपाटी

२ हप्ता अगाडि

काठमाण्डौ । प्रतिनिधिसभा चुनावअन्तर्गत सर्लाही -३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार उहाँले ४६ हजार ८९० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गर्नुभयो । रास्वपाका साह यस क्षेत्रमा पनि मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता कायम गर्नुभएको थियो ।

नवनिर्वाचित साहले ३३ हजार ५५२ मतान्तरले विजयी हुनुभएको हो । निर्वाचन परिणाम अनुसार नेकपा ९एमाले०का उम्मेदवार हरिप्रसाद उप्रेतीले ५ हजार ७७६, नेपाली कांग्रेसका उम्मेदवार विनोद खनालले ६ हजार ६२४ र उज्यालो नेपाल पार्टीका उम्मेदवार त्रिभुवनकुमार सिंहले २ हजार ६२२ मत प्राप्त गर्नुभएको थियो । मतगणना आज बिहान सम्पन्न भएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।

साहलाई तेस्रो प्रयासमा सफलता

आसन्न चुनावमा विजयी हुनुभएका साहलाई तेस्रो प्रयासमा सफलता मिलेको छ । दोस्रो संविधानसभाका समानुपातिक सदस्य साहले २०७४ मा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । तर, तत्कालीन माओवादी केन्द्रका नेता रामेश्वर राय यादवसँग उहाँ पराजित हुनुभएको हो । साहले २०७९ मा तत्कालीन माओवादी केन्द्रबाटै चुनावी मैदानमा होमिनुभएको थियो ।

त्यतिबेला पनि उहाँ झिनो मतान्तरले एमालेका उम्मेदवार उप्रेतीसँग पराजित हुनुभयो । निरन्तर प्रतिनिधिसभा निर्वाचनमा मैदानमा होमिदै आउनुभएका उहाँले यसपटक भने उम्मेदवारी दर्ताको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर आउनुभएको थियो । यसपटक भने उहाँले प्रत्यक्षतर्फबाट संसद् यात्रा तय गर्न सफल हुनुभएको हो । १ लाख ३४ हजार ४१२ जना मतदाता रहेको यस क्षेत्रमा ८२ हजार २७२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार