काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु भएको अफगान अधिकारीहरुले दाबी गरेका छन् । तर पाकिस्तानले भने अस्पतालमा आक्रमण नगरिएको जनाएको छ ।
अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा लेख्दै राति करिब ९ बजे पाकिस्तानले दुई हजार शय्याको ओमर एडिक्सन ट्रिटमेन्ट अस्पतालमा आक्रमण गरेको र अस्पतालको ठूलो भाग ध्वस्त भएको बताएका छन् । उनका अनुसार आगलागी नियन्त्रण गर्न र भग्नावशेषबाट शव निकाल्न उद्धार टोली खटिएको छ ।
स्थानीय टेलिभिजनहरूले सार्वजनिक गरेको भिडियोमा सुरक्षाकर्मीहरूले टर्चको सहायताले घाइते र मृतकलाई बाहिर निकालिरहेको तथा दमकलकर्मीहरूले भग्नावशेषबीच आगो निभाउने प्रयास गरिरहेको देखिन्छ ।
अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अस्पताल तथा नागरिक संरचनालाई लक्षित गरी आक्रमण गरिएको भन्दै पाकिस्तानको कडा आलोचना गरेका छन् । उनले यस्तो कार्य मानवताविरुद्धको अपराध भएको बताएका छन् ।
पाकिस्तानको खण्डन
यद्यपि पाकिस्तानले भने अस्पतालमा आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले काबुलमा कुनै अस्पताललाई लक्षित नगरिएको बताएका छन् ।
पाकिस्तानको सूचना मन्त्रालयले जारी गरेको वक्तव्यमा अफगानिस्तानका विभिन्न स्थानमा गरिएको हवाई कारबाही सैन्य संरचना, प्राविधिक उपकरण भण्डारण स्थल तथा गोला–बारुद भण्डारणलाई लक्षित गरिएको दाबी गरिएको छ । मन्त्रालयले आक्रमण अत्यन्त सावधानीपूर्वक गरिएको र नागरिक संरचनामा कुनै क्षति नपुग्ने गरी सञ्चालन गरिएको बताएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानका तालिबान शासकलाई आतंकवादविरुद्धको प्रयास तत्काल तीव्र पार्न आह्वान गरेको छ । परिषद्ले सर्वसम्मतिले पारित प्रस्तावमार्फत सबै प्रकारका आतंकवादी गतिविधिको कडा निन्दा गरेको छ ।
पाकिस्तानले अफगानिस्तानले पाकिस्तानी तालिबानलगायत विभिन्न उग्रवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने काबुलले यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।
दुवै देशबीचको तनाव फेब्रुअरी अन्त्यतिरबाट बढेको हो । अफगानिस्तानले पाकिस्तानले अफगान भूभागमा गरेको हवाई आक्रमणपछि सीमापार आक्रमण गरेको दाबी गरेको थियो । त्यसयता दुवै पक्षबीच लगातार झडप र हवाई आक्रमण भइरहेका छन् । पाकिस्तानले अफगानिस्तानसँग ‘खुला युद्ध’को अवस्था रहेको बताएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्