Skip to content

‘पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु’: भूमिका श्रेष्ठ

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक कोटामा निर्वाचित भएकी भूमिका श्रेष्ठले आफ्नो जिम्मेवारी थप बढेको बताएकी छन् । उनी लैङ्गिक तथा यौनिक अख्पसंङख्यक समुदायबाट ट्रान्सजेन्डर महिलाका रुपमा पहिलो पटक संसदमा पुगेकी हुन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै श्रेष्ठले आफ्नो जिम्मेवारी थपिएको हुनाले अब थप मेहेनत गर्ने बोला आएको बताउँदै सदनमा आफ्नो सहभागिता सकारात्मक रहेको बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन कायम गर्न र समावेशी सिद्धान्तलाई कार्यान्वयनमा ल्याउनका लागि अब्बल रहेकाले उक्त पार्टी रोजेको रहेको समेत बताइन् ।

उनले भनिने, ‘रास्वपाले समावेशी सिद्धान्तलाई एकदमै ख्याल राख्ने गर्दछ । आफ्नो सहभागितालाई पार्टीले सकारात्मक ढङ्गले लिएको छ । सुशासन कायम गर्ने समावेशी सिद्धान्तलाई अगाडि ल्याउनका लागि पार्टी एकदमै अब्बल छ ।’

संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूदायको आवाज समावेश भएपनि कार्यान्वयनमा नआउँदा समस्या भएको उनले सुनाइन । अब आफ्नो मुख्य एजेन्डा भनेको आवश्यक नियम कानुन बनाउन सहयोग गर्ने, समूदायको आवाजलाई कसरी अगाडि लैजाने भनेर मुद्दाहरु अगाडि बढाउने रहेको बताइन् ।

उनले भनिन्, ‘संविधानको धारा १२, १८ र ४२ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवाज समावेश भएको छ । तर उचित संयन्त्र वा संरचना नहुँदा कार्यान्वयनमा ल्याउन कठिनाइ भइरहेको छ । जुन खालको नीति नियम र कानुन बन्नुपर्ने, जुन खालको खाका तयार गर्नुपर्ने थियो । त्यो तयार भएको छैन । अब म त्यसका लागि सक्रिय हुनेछु ।’

आफ्नो समूदाय मात्र नभइ मधेसी, मुस्लिम, अपाङ्गता भएको व्यक्तिको आवाजलाई समेत उठाएर लानुपर्ने आफ्नो जिम्मेवारी भएको उनले बताइन । विविधतामा एकता भनेजस्तै पछाडि परेको आवाज र मुद्दालाई अगाडि ल्याउने मूल एजेन्डा आफूले अगाडि सार्ने उनको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकताको समस्या, लैगिक अल्पसङ्ख्यककको कुरा र वैवाहिक समानताका मुद्दालाई एउटा किनारामा ल्याउनुपर्ने दायित्व आफ्नो रहेको श्रेष्ठले बताइन । अबको पाँच वर्षमा समुदायको बढी फोकस गरेर काम गर्ने उनले सुनाइन ।

समूदायको अलग्गै राजनीतिक दलबारे आफूले नसोचेको बताउँदै श्रेष्ठले नेपालका सबै राजनीतिक दलहरुले सबै समूदायका मुद्दाहरु समान रुपले बोक्नुपर्ने उनको भनाइ छ । आगामी दिनमा रास्वपा नेतृत्वकै सरकार बन्ने भएकाले पार्टीले दिएको जिम्मेवारी आफूले निर्वाह गर्ने बताइन् ।

मन्त्रालयको जिम्मेवारी आए पछि नहट्ने उनको भनाइ छ । डेढ दशकदेखि समूदायका मुद्दा उठाउँदै आएपनि अब थप सशक्त बनेर काम गर्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार