Skip to content

गुण्डागर्दी र बिचौलियाको आरोपमा चार दिनमा २२६ जना पक्राउ

कालोपाटी

९ घण्टा अगाडि

काठमाण्डौ । नेपाल प्रहरीले गुण्डागर्दी र बिचौलियाको आरोपमा चार दिनमा २२६ जनालाई पक्राउ गरेको छ । चैत १८, १९, २० र २१ गतेको खोजी अभियानमा २२६ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया थालिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उनीहरू गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध पक्राउ परेका हुन् । सार्वजनिक सेवा प्रवाहमा हैरानी दिने, सार्वजनिकस्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेसन चलाएको उहाँको भनाइ छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयको विवरण अनुसार चैत १८ गते काठमाण्डौ उपत्यकाबाट ५१ जना, कोशी प्रदेशबाट १८ जना, १९ गते कोशीबाट एक, मधेश प्रदेशबाट सात, बागमतीबाट २३, गण्डकीबाट दुई र कर्णालीबाट ११ जना पक्राउ परेका थिए । यस्तै २० गते मधेश प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई तथा २१ गते काठमाण्डौ उपत्यकाबाट ६२ जना पक्राउ परेका छन् ।

अभियान निरन्तर चलिरहेको प्रहरी नायब महानिरीक्षक काफ्लेले बताउनुभयो । यसैक्रममा गुण्डागर्दीको आरोपमा ‘सानुभाइ’ भनिने युवराज गुरुङ पनि पक्राउ परेका छन् । कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक काफ्लेले बताउनुभयो ।

यसैबीच जिल्ला प्रहरी परिसर भक्तपुरले पनि हिजो एकैदिन ६० जनालाई पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरका अनुसार विभिन्न ठाउँबाट ६० जना पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार