Skip to content

मौलिकता गुमाएको बारपाक (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । २०७० साल तिर मा पहिलो पटक बारपाक पुगेको थिए । त्यस समय एकनासको ढुङ्गाले छाएका मौलिक घरहरू देख्न पाउँदा सारै रमाइलो लागेको थियो । गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकले अहिले भने आफ्नो मौलिकता गुमाएको महसुस भएको छ ।सडक सञ्जालको सहज पहुँच, दैनिक रुपमा आउने आन्तरिक र बाह्य पर्यटकहरूको लागि सुविधा सम्पन्न होटल, खानामा स्थानीय उत्पादन भन्दा पनि बाहिरबाट भित्रिए खानेकुराले प्राथमिकता पाएको देखिन्छ ।

गाउँ भित्र जबरजस्ती लागिएको जस्तो साँगुरो सडक, सिमेन्ट, बालुवाका ट्याक्टर, कोही स्थानीय सडकमा रड सोझ्याउँदै, कहीँ घरका जग खाँदै गरेका त कोही घर निर्माणको अन्तिम चरणका काम गर्दै गरेका दृश्यहरू अहिले बारपाकका हरेक टोलमा देख्न पाइन्छ ।२०७२ सालको गोरखा भूकम्पको केन्द्रित बारपाकमा अहिले मौलिक घरले भन्दा पनि बढी प्राथमिकता कंक्रिटको घरहरुले पाई रहेको छ ।मौलिक र परम्परागत घरहरू केही मात्र बाँकी रहेतापनि अहिले बालुवा, सिमेन्ट, इट्टा र रडको प्रयोग गरी बनाइएको कङ्क्रिट घरहरूको सङ्ख्या बढेको छ ।

घर बनाउँदै गरेका स्थानीय मोहनभगी गुरुङका अनुसार २०७२ सालको भूकम्प पछि यस्तो सिमेन्टको घरहरू धेरै बनेका छन् ।पुरानो घरभन्दा यो घर भूकम्पका अलि सुरक्षित हुने एउटा कारण र अर्को कारण गाउँको प्रायः जस्तो मानिसहरू विदेशमा छन्, केहीमा केही रुपमा आर्थिक रूपले सक्षम पनि भएका छन् त्यसैले पनि गाउँमा यस्तो घर (कङ्क्रिट) बनेको उनले बताए । अहिले गाउँ आर्थिक रुपमा हुनेखाने वर्गले यस्तो पक्की घर बनाएका छन् भने अरु चाहिँ पुरानो घरलाई मर्मत गरी बस्दै छन्, उनले भने ।

काठमाडौंबाट घुम्न आएका दिपेश दर्शनधारीले भने, काठमाडौं भन्दा धेरै शान्त बारपाकले आफ्नो मौलिकता भने गुमाएछ । लाहुरेहरुको वीरगाथा र पछिल्लो समय भूकम्पको केन्द्रबिन्दु भएर विश्वले चिनेको बारपाक बासीले मौलिकता र स्थानीय उत्पादनमा जोड दिनु पर्ने दर्शनधारीले बताए ।मकै, जौ, गहुँ, कोदो, सिलाम लगायत विभिन्न तरकारी स्थानीय स्तरमै उत्पादन हुने भएपनि, यातायातको सहज पहुँचले सदरमुकाम गोरखा बजार, चितवनसम्म बाट तरकारी र अन्य खाद्य वस्तु बारपाक भित्रने गरेको छ ।बारपाक बासीले ऐतिहासिक पक्ष, मौलिकता र स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी पर्यटन प्रवद्र्धनमा जोड आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार