Skip to content

आत्मघाती आक्रमणमा मालीका रक्षामन्त्री मारिए

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौँ । मालीका रक्षामन्त्री साडियो कामाराको विद्रोही समूहले गरेको आत्मघाती ट्रक बम आक्रमणमा परी मृत्यु भएको छ ।

राजधानी बामाको नजिकै रहेको उनको निवासमा जिहादी विद्रोही र पृथकतावादी समूहहरूले गरेको संयुक्त आक्रमणका क्रममा मृत्यु भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

सरकारी टेलिभिजनले पनि रक्षामन्त्री कामाराको मृत्युको पुष्टि गरिसकेको छ । आक्रमणमा रक्षामन्त्रीका परिवारका तीन सदस्यको समेत मृत्यु भएको छ । यसैगरी विद्रोहीहरूले सैन्य जुन्ताका प्रमुख जनरल आसिमी गोइटाको घरलाई समेत निशाना बनाएपछि उनलाई सुरक्षित स्थानमा सारिएको छ ।
अल-कायदासँग आबद्ध जिहादी समूह र तुआरेग पृथकतावादी समूह ९एफएलए० ले देशका विभिन्न स्थानमा एकैसाथ ठूला आक्रमणहरू गरेका छन् ।

उत्तरी सहर किडालबाट मालीको सेनालाई सहयोग गरिरहेका रुसी भाडाका सैनिकहरू पछि हट्न सहमत भएको विद्रोहीहरूले दाबी गरेका छन् ।

विद्रोही समूह एफएलएले किडाल सहर अहिले पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको घोषणा गरेको छ । सरकारले देशभर उच्च सतर्कता अपनाएको छ भने राजधानी बामाको लगायतका क्षेत्रमा रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

सन् २०२० मा सैन्य कू मार्फत सत्ता कब्जा गरेको मालीको जुन्ता सरकारले सुरक्षा सुधार गर्ने वाचा गरे तापनि विद्रोही हिंसाले देश आक्रान्त बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार