Skip to content

विजय थालापति तमिलनाडुको मुख्यमन्त्री नियुक्त

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौँ । तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्।

उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

उनको शपथ ग्रहण आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियम मा हुने तय भएको छ।उनले १३ मेभित्र विधानसभामा विश्वासको मत लिनुपर्नेछ।

सरकार गठनका लागि आवश्यक बहुमत जुटाएपछि विजय समर्थन पत्रसहित राज्यपाललाई भेट्न लोक भवन पुगेका थिए।

उनले विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग ९आईयूएमएल० को समर्थन पत्र बुझाउँदै सरकार गठनको दाबी पेश गरेका थिए।

यसअघि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भीसीके र आईयूएमएलले टिभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए।

भीसीके नेता थोल तिरुमावलवन ले टिभीके नेता आधव अर्जुनलाई समर्थन पत्र हस्तान्तरण गरेका थिए।

टिभीके नेता आधव अर्जुनले कांग्रेस, वामपन्थी दल र भीसीकेलाई धन्यवाद दिँदै लोकतन्त्रको रक्षा गरिने र जनताको समर्थनमा विजय मुख्यमन्त्री बन्ने बताएका छन्।

२३४ सदस्यीय तमिलनाडु विधानसभा निर्वाचनमा टिभीकेले १०८ सिट जितेको थियो। विजय स्वयं दुई सिटबाट निर्वाचित भएकाले एक सिट छाड्नुपर्नेछ। त्यसपछि टिभीकेको संख्या १०७ मा झर्नेछ र सदनको प्रभावकारी संख्या २३३ हुनेछ। बहुमतका लागि ११७ सांसद आवश्यक पर्नेछ।

कांग्रेससँग ५ सिट छ भने सीपीआई, सीपीएम, भीसीके र आईयूएमएलसँग दुई–दुई सिट छन्। यी दलको समर्थनपछि टिभीके पक्षमा १२१ सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो।

यसबीच शनिबार राजनीतिक विवाद पनि देखिएको छ। एएमएमके महासचिव टीटीभी दिनाकरन ले राज्यपाललाई भेटेर टिभीकेविरुद्ध उजुरी दिएका छन्। एएमएमकेले आफ्ना एकमात्र विधायकलाई फकाउने प्रयास भएको आरोप लगाएको छ।

दिनाकरनले सार्वजनिक भएको एउटा भिडियो नक्कली भएको दाबी गर्दै यसको पछाडि विजयको हात रहेको आरोप लगाएका छन्।

उनले आवश्यक परे कानुनी परामर्श लिएर औपचारिक उजुरी दर्ता गर्ने चेतावनीसमेत दिएका छन्।

विजयले २०२४ मा मात्रै टिभिके स्थापना गरेका थिए। स्थापनाको दुई वर्षमै विजयको पार्टी सत्तामा आएको हो।

विजयले कुनै गठबन्धन नगरी एक्लै सबै २३४ सिटमा उम्मेदवारी दिएका थिए।

यसपालिको चुनावमा उनले सिठ्ठी अभियान सञ्चालन गरेका थिए। उनले आफूलाई हरेक तमिल परिवारको सदस्यका रूपमा प्रस्तुत गर्दै सिठ्ठीलाई परिवर्तनको प्रतीक बनाएका थिए।

विजयले डीएमकेलाई खराब शक्ति भन्दै सिठ्ठी अभियानमार्फत सत्ताबाट हटाउने दाबी गरेका थिए। नतिजा पनि त्यस्तै आयो।

चुनावी प्रचारका क्रममा विजयले डिएमकेलाई राजनीतिक र भाजपालाई वैचारिक शत्रु भनेका थिए। त्यसकारण कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका थिए।

सन् १९७४ मा चेन्नईमा जन्मिएका विजय प्रसिद्ध निर्देशक एस।ए। चन्द्रशेखरका छोरा हुन्।

बाल कलाकारका रूपमा फिल्म यात्रा सुरु गरेका उनले ‘गिल्ली’, ‘कथी’, ‘मर्सल’ र ‘बिगिल’ जस्ता हिट फिल्ममार्फत थालापति (कमाण्डर)को छवि बनाएका थिए।

सन् २०२४ फेब्रुअरी २ मा उनले औपचारिक रूपमा टिभिके स्थापना गरेका थिए। सो पार्टी सेप्टेम्बर ८ मा मात्रै निर्वाचन आयोगमा दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार