काठमाडौँ । प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेत लगायतका मुलुकहरूमा नेपाली मानव तस्करहरूले १० देखि १२ लाख रुपैयाँमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको जिकिर गर्दै त्यस्ता गिरोहमाथि तत्काल कानुनी डन्डा चलाउन माग गरेकी हुन्।
प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरूमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले विभिन्न अवैध बाटो प्रयोग गरेर ती देशहरूमा पुर्याउने गरेको उल्लेख गरिन्। यस्ता गतिविधिमा कडा निगरानी राख्न उनले सरकारलाई सचेत गराएकी छन्।
संसद्मा बोल्दै उनले भनिन्, ‘शर्मिला दर्जीलाई कुवेतमा नेपाली राज्यले तुरुन्त खोजी गरोस्। म नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण पनि गराउन चाहन्छु। यो एउटा प्रतिनिधि घटना मात्रै हो सभामुख महोदय। यस्ता अरू हजारौँ घटनाहरू छन्।
यी सब घटनालाई केलाउन हामी सन् २०१७ मा जानुपर्ने हुन्छ। नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक विशेष गरी नेपाली महिलाहरूलाई घरेलु काममा विदेश जान प्रतिबन्ध लगाएको थियो। सरकारको तर्क थियो– शोषणबाट उनीहरूलाई सुरक्षा दिनु। के यो प्रतिबन्धले साँच्चै महिलाहरूलाई सुरक्षित बनायो तर ? ’
उनले थपिन्, ‘प्रतिबन्धले घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन। हाम्रा महिलाहरूलाई खाडीसम्म पुर्याउन एजेन्टहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गर्दै छन्। कहिले भारत हुँदै उनीहरूलाई बोर्डर क्रस गराइन्छ, कहिले तान्जानिया लगायतका अफ्रिकी मुलुकहरूमा ट्रान्जिट गराइन्छ।
एजेन्ट जतातिर पनि नेपाली नै छन्। त्यसैले यी मानव बेचबिखनमा संलग्न एजेन्टहरू ध्वस्त हुन जरुरी छ। अहिले तस्करहरूले कुवेतमा १० देखि १२ लाखमा नेपाली महिलाहरू बेच्ने काम गरिरहेका छन्।’
प्रमुख सचेतक ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको यो बदमासी र सोझा नागरिकले भोग्न बाध्य भएको पीडाप्रति सरकार मूकदर्शक बन्न नहुने बताइन्। सरकारले अलपत्र परेका र पीडित बनेका नेपाली नागरिकको उद्धार कार्यमा थोरै पनि ढिलाइ गर्न नहुने उनको भनाइ छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्