Skip to content

‘एक हप्ताभित्र बाँदर आतङ्क नियन्त्रणका लागि कदम नचाले संसद् बैठक चल्न दिँदैनौँ’: एमाले सांसद राई

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतङ्क नियन्त्रणका लागि ठोस कदम नचाले संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद् बैठक सञ्चालनमा कठिनाइ हुने बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठुलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले बदमासी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो रु भनी प्रश्न समेत गरे ।

सांसद राईले भने, ‘यदि कोही मानिसले बदमासी गर्यो भने उसलाई पुलिसले बाँधेर लैजान्छ । उसलाई जेलमा थुनिन्छ । आज बाँदरले सयौँ मानिसहरूको उठिबास लगाइसक्यो । सयौँ मानिसहरूले दाल, भात, तरकारी खान पाएनन् । यसबारेमा सरकार किन सिरियस् हुँदैन रु म भन्न चाहन्छु– यो सरकारले गर्ने थुप्रै कामहरूमा सबैभन्दा पहिला जनताको जीवनमा ठुलो समस्या भएको बाँदर छ । यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने जनजीवनको परिवर्तनमा ठुलो समस्या हुन्छ । तसर्थ तत्काल रूपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति यो सरकारलाई म ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद राईले बाँदरको आतङ्कबाट नागरिकलाई छुटकारा दिन सरकारले जुनसुकै कदम चाल्न पनि पछि पर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार