Skip to content

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी

कालोपाटी

४७ मिनेट अगाडि

काठमाण्डौ । अफ्रिकामा इबोला सङ्क्रमण र यसको जोखिम बढिरहेका बेला रुसले यो भाइरसविरुद्धको खोप विकास गरेको दाबी गरेको छ ।

दक्षिण अफ्रिकामा रहेको रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोडिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ । दूतावासले रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूपविरुद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

विशेष गरी कङ्गो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुन्डिबुग्यो स्ट्रेनविरुद्ध पनि यो खोप उपयोगी हुन सक्ने रुसका वैज्ञानिकहरूको दाबी छ । तर अहिलेसम्म बुन्डिबुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त छैन ।

यस्तो अवस्थामा रुसले गरेको नयाँ खोप विकासको दाबीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले चासोका साथ लिएका छन् । इबोला प्रभावित कङ्गो र युगान्डासँग सीमा जोडिएका देशहरू, विशेष गरी दक्षिण सुडानलगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आङ्कलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार