Skip to content

गर्मी छल्न फेवातालमा हेलिँदै पर्यटक (सात तस्विर)

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौँ । पछिल्लो समय बढ्दो गर्मीका बीच पर्यटकहरू शीतलता र मनोरञ्जनको खोजीमा पोखराको फेवातालतर्फ आकर्षित हुन थालेका छन्। विशेषगरी आन्तरिक तथा विदेशी पर्यटकहरू गर्मी छल्न फेवातालमा विभिन्न जलक्रीडामा सहभागी भइरहेका छन्।

फेवातालमा पछिल्ला वर्षहरूमा ‘स्ट्याण्ड अप प्याडल बोर्डिङ’ (एसयूपी) युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ। तालको शान्त पानीमाथि विशेष बोर्डमा उभिएर प्याडल चलाउने यो साहसिक तथा मनोरञ्जनात्मक गतिविधिप्रति युवाहरूको आकर्षण बढ्दो छ। शारीरिक सन्तुलन, व्यायाम र मनोरञ्जन एकैसाथ प्राप्त हुने भएकाले एसयूपी धेरैको रोजाइमा पर्न थालेको व्यवसायीहरू बताउँछन्।

पोखरामा केही समययता तापक्रम वृद्धि भएसँगै फेवाताल क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढेको छ। तालमा डुंगा सयरसँगै स्ट्याण्ड अप प्याडल बोर्डिङ, कायकिङ लगायतका गतिविधिमा सहभागी हुनेहरूको चहलपहल बढेको देखिन्छ।

पर्यटकहरू बिहान र साँझको समयमा फेवातालमा एसयूपी गर्दै हिमाल, ताल र हरियालीको मनोरम दृश्य अवलोकन गर्न पाउँदा छुट्टै आनन्द मिल्ने बताउँछन्। सामाजिक सञ्जालमा आकर्षक तस्बिर तथा भिडियो साझेदारी गर्न सकिने भएकाले पनि युवा पुस्तामा यसको लोकप्रियता बढेको व्यवसायीहरूको भनाइ छ।

जलपर्यटनसँग सम्बन्धित व्यवसायीहरूका अनुसार स्ट्याण्ड अप प्याडल बोर्डिङले पोखराको पर्यटनमा नयाँ आयाम थपेको छ। तालको प्राकृतिक सौन्दर्यसँगै साहसिक अनुभव लिन चाहने पर्यटकहरूका लागि यो गतिविधि आकर्षणको केन्द्र बन्दै गएको छ।

गर्मी बढेसँगै फेवातालमा जलक्रीडाको रमाइलो अनुभव लिन आउने पर्यटकहरूको चाप अझ बढ्ने अपेक्षा गरिएको छ। पर्यटन व्यवसायीहरूले सुरक्षित र व्यवस्थित रूपमा सेवा प्रदान गर्दै पोखरालाई जलपर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार