काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पपुलिजम, अवसरवाद र अराजकताको जगमा भएको दाबी गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय शक्तिको रूपमा उदाएको छ, त्यसको पतनको सम्भावना पनि उत्तिकै रहेको बताए। रास्वपा नेपाली राजनीतिको लागि दीर्घकालीन चुनौती नभएको उल्लेख गर्दै उनले यसलाई सहजै सामना गर्न सकिने धारणा राखे।
रास्वपाजस्ता शक्तिलाई सामना गर्न एमालेले आफूलाई वैचारिक र साङ्गठनिक रूपमा तयार पार्नुपर्नेमा पोखरेलले जोड दिए। पार्टीबाट टाढिएको नयाँ पुस्ता, आधारभूत वर्ग र मध्यम वर्गको भरोसा पुनः जित्न आवश्यक रहेको उनले औँल्याए।
‘जुन शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतनको सम्भावना पनि त्यति नै बढी हुन्छ,’ महासचिव पोखरेलले भने, ‘त्यसैले जति छिटो उदय, त्यति छिटो पतनको जोखिम भन्ने यथार्थलाई बुझ्न आवश्यक छ।’ रास्वपा नेपालको राजनीतिमा दीर्घकालीन चुनौती बन्ने शक्ति नभएको उनको भनाइ थियो। उनले अगाडि थपे, ‘त्यसलाई सामना गर्न सकिन्छ, तर त्यसका लागि सबैभन्दा पहिले हामी आफैँ तयार हुनुपर्छ। वैचारिक रूपमा हामीबाट टाढिएको नयाँ पुस्तालाई पुनः जोड्ने, हामीबाट अलग्गिएको आधारभूत वर्ग र समुदायलाई पार्टीसँग आबद्ध गर्ने, हामीबाट टाढिन पुगेको मध्यम वर्गको विश्वास पुनः जित्ने काम गर्नुपर्छ।’
समाजमा रहेका विभिन्न भाषा, संस्कृति र समुदायलाई पार्टीसँग जोड्नका लागि नीतिहरू अद्यावधिक गर्नुपर्ने, कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने र साङ्गठनिक ढाँचामा सुधार गर्दै पार्टीलाई पुनर्गठित गर्नुपर्ने उनको भनाइ थियो। पार्टी अहिले सोही दिशामा अगाडि बढिरहेको समेत उनले स्पष्ट पारे।
पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनका लागि संस्थागत प्रक्रियामार्फत सुधार र पुनर्गठनको अभियान अघि बढाइने पनि महासचिव पोखरेलले बताए। पार्टीभित्र कुनै पनि प्रकारको सङ्कट वा समस्या उत्पन्न नहुने गरी अगाडि बढ्न खोजेको उनले स्पष्ट पारे। निर्वाचनको परिणामपछि पार्टी पङ्क्तिमा केही हदसम्म निराशा र पलायनताको भाव देखिएको स्वीकार गर्दै उनले कार्यकर्ताहरूमा नयाँ उत्साह भर्नु अनिवार्य रहेको उल्लेख गरे। कार्यकर्तामा उत्साह पैदा नगरी जनतासँगको सम्बन्ध जीवन्त हुन नसक्ने उनको तर्क थियो।
‘यी सबै काम हामी संस्थागत प्रक्रियामार्फत गर्छौँ। पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यका साथ अघि बढ्छौँ,’ पोखरेलले भने। पार्टीलाई अझ बलियो, सक्षम र एकताबद्ध बनाउनका लागि सुधार र पुनर्गठन आवश्यक रहेको उनले बताए। ‘अब हाम्रो मुख्य चुनौती कार्यकर्ता पङ्क्तिमा पुनः उत्साह सिर्जना गर्नु हो,’ उनले थपे, ‘मनभरि प्रश्न, अन्योल र गुनासा बोकेर जनताको विश्वास जित्न सम्भव हुँदैन। त्यसैले पहिले आफ्ना द्विविधा हटाउँदै आत्मविश्वासका साथ जनतामाझ जान सक्नुपर्छ।’ उनले कार्यकर्ताहरूलाई आफ्ना मनमा रहेका प्रश्न र गुनासाहरूको उत्तर आफैँ खोज्न आग्रह गरे।
यसैबीच महासचिव पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोपहरू प्रमाणित गर्न सरकारलाई चुनौती दिएका छन्। राजनीतिक प्रतिशोधका आधारमा एमालेलाई बदनाम गर्ने प्रयास भइरहेको उनको दाबी थियो। यती होल्डिङ्स, ओम्नी र गिरिबन्धु टी–स्टेट लगायतका प्रकरणमा एमालेलाई विनाकारण मुछिएको उनले उल्लेख गरे। आर्थिक लेनदेन नै नभएको विषयमा भ्रष्टाचार कसरी हुन्छ भन्दै पोखरेलले प्रश्न गरे। कतिपय विषयमा नीतिगत निर्णय मात्र भएको र कतिपयमा नीति निर्माणको प्रक्रिया पनि सुरु नभएको विषयलाई लिएर पार्टीमाथि बदनाम गरिएको उनले बताए। हाल एमाले सरकारमा नरहेको अवस्थामा सरकारले ती आरोपहरू पुष्टि गरेर देखाउनुपर्ने उनको भनाइ थियो।
विगतका घटनाहरूको स्मरण गराउँदै पोखरेलले राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई दुःख दिने काम भइरहेको बताए। पार्टी अध्यक्षलाई १३ दिन र उपाध्यक्ष विष्णु पौडेललाई २५ दिन हिरासतमा राख्दा पनि कुनै प्रमाण जुटाउन नसकेको र मुद्दा दर्ता गर्न नसकेको उनले जिकिर गरे।
‘हामीले गल्ती गरेका कारण होइन, राजनीतिक आरोपका कारण बदनाम हुने प्रयास भएको हो। आरोप धेरै लगाइए पनि प्रमाणित हुन सकेका छैनन्,’ उनले भने, ‘अहिले सरकार उनीहरूकै भएकाले यदि प्रमाण छ भने कानुनी कारबाही गरेर देखाउन सक्नुपर्छ। जहाँ आर्थिक लेनदेन नै भएको छैन, त्यहाँ भ्रष्टाचारको आरोप टिक्दैन।’
नेपालका राजनीतिक दलहरूमध्ये एमालेमा सबैभन्दा बढी इमानदार नेता र कार्यकर्ता रहेको दाबी गर्दै महासचिव पोखरेलले सुशासनको प्रश्नमा आफ्नो पार्टी जुनसुकै परिस्थिति सामना गर्न तयार रहेको बताए। एमाले कार्यकर्ताहरूलाई पार्टीको स्वच्छ छवि र सुशासनप्रतिको प्रतिबद्धता लिएर जनतामाझ जान समेत उनले आग्रह गरे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्