मास्क नलगाउने यात्रुले उपत्यकामा सार्वजनिक सवारीसाधन चढ्न नपाउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं। उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारीसाधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौ. उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ सवारीसाधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो । सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ । आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ ।

कोभिड–१९ सङ्क्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ । चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ । चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरिएको छ । यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारीसाधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ ।

बैठक, गोष्ठी, सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्न र यदि उपस्थित हुनैपरेमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न भनिएको छ । सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ ।

होटल पार्टीप्यालेसले पनि कर्मचारीलाई सकेसम्म आफैँ एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ । स्थानीय ढुवानी बिहान १ः०० देखि ११ः०० र अपराह्न ४ः०० देखि ७ः०० बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी बिहान १ः०० देखि बिहान ५ः०० बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्