चाडपर्वलाई लक्षित गरी अनुगमनलाई तीव्रता

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । आउँदै गरेका बडादसैँ, तिहार छठलगायत चाडपर्वलाई लक्षित गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअन्तर्गतका कार्यालयले पसल अनुगमनलाई तीव्रता दिएको छ । विभागअन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले आवश्यकताका आधारमा कार्य क्षेत्रभित्र पर्ने विभिन्न जिल्लाका विभिन्न खाद्यन्न पसलमा अनुगमनलाई तीव्रता दिएको जनाएको छ । प्रदेश नं २ का आठ जिल्लासहित मकवानपुर र चितवन सो कार्यालयको कार्यक्षेत्र रहेको बताइएको छ ।

पछिल्लो पटक चाडबाड लक्षित गरी पर्सा, बारा र चितवन जिल्लामा अनुगमनलाई थप तीव्रता दिएको कार्यालयका प्रमुख जीतबहादुर भण्डारीले जानकारी दिनुभयो । अनुगमनका क्रममा अधिकांश पसलेले खरिदबिक्री देखाउन नसक्ने, अन्य कागजपत्र देखाउन नसक्ने, मूल्यसूची सार्वजनीक नगरी बढी मूल्यमा सामग्री बिक्री गर्ने र म्याद गिज्रिएको सामग्री बिक्री गर्ने गरेको पाइएको छ । उक्त पसलेलाई नियमानुुसार कारवाही गरिँदै आएको कार्यालयले जनाएको छ । चाडबाडको बेला वीरगञ्ज बजारमा म्याद गुज्रिएका सामग्री नयाँ स्टिकर लगाएर बिक्री गर्ने गरेको पाइएको बताइएको छ । कोरोना महामारीका कारण लामो समयसम्म ब्यापार नभएका व्यापारी चाडबाडको मौकामा म्याद गुज्रिएका खाद्यान्न सामग्री बिक्री गर्ने गरेको र त्यस्ता पसललाई आवश्यक कानुनी कारवाही गर्दै आएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, चकलेट, बनभिटा, चिउरा, भुजियालगायतका खाद्य वस्तु र पेयपदार्थमा रिएलजुस कोकोकोला फ्यान्टा, बोटलको पानीलगायतका म्याद नाघेका सामग्री फेला परेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने, बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा तत्काल रु पाँच हजारदेखि रु तीन लाख जरिवाना गर्नसक्ने व्यवस्था छ भने तीन महिनादेखि एक वर्षसम्म कैद जरिवाना हुने व्यवस्था छ ।- रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्