पशुपालनमा पाल्पाका युवा आकर्षित

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । पहाडी जिल्लामा गरिबी र बेरोजगारी समस्या समाधान गर्न युवाहरु पशुपालनका क्षेत्रमा आकर्षित भएका छन् । स्थानीय स्रोत र साधन परिचालन गरी पशुपालनका माध्यमबाट मासु तथा दूध ठुलो मात्रामा उत्पादन हुँदा त्यसमा आश्रित युवा रोजगार तथा स्वरोजगार हुँदै आएका हुन् ।

हेफर इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष महेन्द्रनाथ लोहनी र पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जाका स्थानीय सरकारबीच अन्तक्रीया कार्यक्रममा पाल्पा माथागढी गाउँपालिका प्रमुख सन्तोष थापा मगरले स्थानीयस्तरमा पशुपालनका माध्यमबाट युवालाई स्वरोजगार बनाउन सकिने बताए । उनले पशुपालनका क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल प्राप्तिका लागि प्राविधिक ज्ञानसमेत आवश्यक पर्ने जानकारी दिए । स्थानीयस्तरमा पशुपालन गरी उत्पादित मासु र दूधलाई प्रशोधन गरी अन्य परिकार तयार गर्न सकिनाका साथै यसका लागि थप जनशक्ति आवश्यक पर्ने भएकाले युवाहरुमा रोजगार र स्वरोजगारका अवसर सिर्जना हुनेछ ।

गुल्मीको माथागढी गाउँपालिका अध्यक्ष रितबहादुर थापाले पशुपालनका क्षेत्रमा लगानी गर्दा स्थानीय तहमा मासु तथा दूधको उत्पादन वृद्धि भइ आर्थिकरूपमा समृद्ध भइने बताए । नागरिकलाई सचेत बनाउँदै युवालाई कृषि तथा पशुपालनमा आकर्षित गर्ने र उत्पादनका क्षेत्रमा लगानी बढाउने, बजारीकरणका लागि पनि सहज पारिनुपर्ने उनको तर्क थियो । पाल्पाको निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले गाउँपालिकाभित्र ठूलो मात्रामा उत्पादित अम्रिसो, तेजपात, अदुवा, गेडागुडी बिक्री हुँदै आएको बताए । उनले उत्पादित वस्तु जिल्ला बाहिर निकासी गर्दा करोडौँ आम्दानी भएपछि नागरिकको जीवनस्तर माथि उठ्न थालेको बताए ।

“तानसेन नगरपालिकामा सञ्चालित कृषि तथा पशुपालन क्षेत्रमा युवाको आकर्षण बढेको छ । नगरप्रमुख अशोककुमार शाही भन्छन्, “पहिला विदेश गएका महिला तथा पुरुष अहिले गाउँ फर्केर बाख्रापालनमा लागिपरेका छन् । नानीबाबुलाई पढाउन भनेर बजार आएका पनि अहिले गाउँमा बाख्रापालन गर्न थालेको देखिएको छ ।”

हेफर इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष लोहनीले नेपालमा अमेरिकी नमुनाअनुसार पशुपालन गर्न आवश्यक रहेको जानकारी दिए । पशुपालनका क्षेत्रबाट युवालाई स्वरोजगार बनाउन सकिने भएकाले यसका लागि पहाडी जिल्लमा पनि राम्रो सम्भवना देखिएको उनले बताए ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्