बगर पन्छाएर घर बस्ने तयारीमा मनाङको तालगाउँवासी

Ad
  • कालोपाटी सम्बाददाता

मनाङ । गत असार १ मा आएको मस्र्याङ्दी नदीको बाढीले नासों गाउँपालिका-१ तालगाउँ बगरमा परिणत भएको थियो । अहिले विस्तारै नदीको बहाब घटेसँगै तालवासी त्यही बगर पन्छाएर बाँकी रहेको संरचनामा बस्न थालेका छन् ।

बाढीपहिराका कारण डुबानमा परेको तालगाउँ बस्ती पुनः घर फर्किने तरखरमा पुगेको हो । असार १ पछि मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ पूरै डुबानमा परेको थियो । यसरी तालगाउँवासी पूर्णरूपमा विस्थापित भएर डाँडामा त्रिपालमुनि बस्दै आएका थिए । यतिखेर भने उनीहरु अब बाढी नआउने भन्दै घर बसाउने तयारीसहित बगर पन्छाउन व्यस्त छन् ।

उनीहरु बाढी पसेको बस्तीको घरमा रहेको गेग्रयान(बगर) फालेर बस्न मिल्ने गरी घरको पुनःनिर्माण गर्दैछन् । बाढीले घर नै बगाएका बाहेक परिवार त्रिपालमा नै बस्दै आएका छन् भने घर बाँकी रहेका परिवारले बालुवा, गिट्टी, ढुङ्गाले पुरेको घरको गेग्रयान पन्छाएर बस्ने तयारी गरिरहेका देखिन्छन् ।

यो बस्ती अझै पनि जोखिमपूर्ण भए पनि स्थानान्तरणको लागि उपयुक्त ठाउँ नहुँदा सोही स्थानमा बस्नुपर्ने बाध्यता रहेको गाउँवासी बताउँछन् । स्थानीय मीनराशी गुरुङ भन्छन्, “तीन महिनासम्म त्रिपालमा बसियो, नदी घटेपछि घर हुने घरमा अड्किएको गेग्रयान फालेर बस्न थालेका छौँ । नहुनेहरु अझै पनि त्रिपालमा नै बस्न बाध्य छौँ । स्थानीय सरकारबाट केही सहयोग होला नि भन्ने आशा छ ।” उनी गेग्रयान फाल्ने सामग्री नहुँदा पनि समस्या भएको बताउछन् । आफ्ना सामग्री नदीमा आएको बाढीले बगाइदियो । बाँकी सामग्रीको सहयताबाट बस्ती बसाउने प्रयास गरिरहेको मीनराशी बताउछन् ।

त्यस्तै स्थानीयवासी गुरुप्रसाद गुरुङ भन्छन्, “घर सबै भत्काएको छ, घरमा आएर बसेका छौँ, स्थानीय सरकारले व्यवस्थित गरी बस्न सहज गराइदिए हुनेथियो भन्ने आशा छ । कोही आफन्तकोमा बस्दै आएको र सकेका व्यक्ति अझैपनि बाहिर नै बस्दै आएका छन् ।”

तीन महिना बढी हुँदासम्म पनि घरबारको अत्तोपत्तो नहुँदा धेरै चिन्तित बनाउने गरेको उनी बताउछन् । अझै घर समेत बाँकी नरहेका परिवारको बसोबासका लागि कुनै आधार नै नभएको उनको भनाइ छ । बस्ती बस्नका लागि अहिले घर बाँकी रहेकाले गेग्रायान फाल्ने काम पाएको गुरुङले बताए ।

बाढीले तालगाउँवासीलाई बेतालको बनाइदिएको उनी बताउछन् । भन्नेबित्तिकै न त घर नै अर्को ठाउँमा बनाउन सकिने रहेको छ । न पुरानो घरमा व्यवस्थित तरिकाले बस्न सक्ने अवस्थामा पुर्याएको उनको भनाइ छ । मौसमा परिवर्तनका कुरा गर्ने आफूहरुले सुन्ने गरेको भन्दै अझै पनि त्रास बढ्ने गरेको उनले बताए ।

नेपालीका ठूला चाडपर्व नजिकिँदै गर्दा सबैतिर खुसीयाली छाएको भए पनि मनाङका बाढी प्रभावित ठाउँ अझैसम्म पनि दुःखमा छन् । बल्लतल्ल तीन महिनापछि मनाङ सडक सञ्जालसँग जोडिएर आवतजावतमा सहज भएको छ तर स्थानीयवासीमा भने अझै खुसी पुग्न सकेको छैन ।

अन्यत्र बस्ने व्यवस्था गर्न नसक्दा गाउँवासी पुरानै ठाउँमा बस्न थालेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । “व्यवस्थापनका लागि पहल भइरहेको छ । तत्काल भने कठिन अवस्थामा नै रहेका छौँ । यसले गर्दा ढिला भएको हो । जाडो बढ्दै गएपछि नदीको सतह घट्दै गएकाले पनि बस्तीतर्फ स्थानीयवासी फर्किएका हुन्,” अध्यक्ष घलेले बताए ।

विभिन्न क्षेत्रसँग ताल गाउँवासीको व्यवस्थापनका सम्बन्धमा छलफल भने भइरहेको उनी बताउछन् । पालिकाले मात्रै व्यवस्थापन गर्न कठिन भएकाले पनि ढिलाइ र समस्या रहेको उनले बताए । उक्त क्षेत्रको बस्तीलाई सुरक्षित र व्यवस्थित राख्नका लागि त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्न जरुरी देखिन्छ ।

जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्ण रुपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको हो । नासोंका धेरै भाग डुबान र पहिराका कारण भौतिक संरचना पूर्ण क्षति पुगेको छ । तीन महिनादेखि मनाङवासीलाई त्रिपालको बास अन्य उपाय पहिचान गर्न सकेका छैनन् । यस वर्ष मस्र्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको छ । यसवर्षको मनसुन सुरु हुनासाथ हिमाली जिल्ला मनाङ दैवी प्रकोपमा परेको थियो ।-रासस

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्