पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

Ad
  • कालोपाटी सम्बाददाता

ताप्लेजुङ । दशैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दशैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दशैँमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन आउने गर्छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीचमा पनि भारतको सिक्किम, दार्जिलिङलगायत ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनभित्र २० हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको प्रहरी चौकी फेदीले जनाएको छ । यस अवधिमा ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौंलगायत देशका विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् । दशैँपछि अहिले पनि पाथीभरामा भक्तजन आउने क्रम जारी रहेको समितिले जनाएको छ ।

पाथीभरा दर्शनका लागि दशैँ, तिहारको समयलाई मुख्य मौसम मानिन्छ । यही मौसममा देशविदेशबाट उल्लेख्यरूपमा भक्तजन पाथीभराको दर्शन गर्न आउने गर्दछन् । गत वर्षको दशैँ, तिहारमा भने कोभिड-१९ का कारण पाथीभरा दर्शन बन्द गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमणको अवस्था न्यून रहेकाले मुख्य मौसमलाई लक्षित गरी गत असोज १ गतेदेखि पाथीभरा दर्शन खुला गरिएको थियो ।- रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्