व्यावसायिक फूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

Ad
  • कालोपाटी सम्बाददाता

देउखुरी घर आँगनमा सयपत्री र मखमली फुल्दा तिहारको झल्को आउने गर्छ । यस्तै झल्को दिएको छ, दाङमा ढकमक्क फूलेका फूलले ।
रोल्पा सुन छहरी गाउँपालिका–७ मा जन्मिनुभएका लोकेन्द्र रोकामगर एक दशकअघि रोजगारीको सिलसिलामा कतार पुग्नुभएको थियो । स्वदेश फर्किएपछि उहाँलाई केही नयाँ व्यवसाय गर्ने सोँँच पलायो र दाङ आएर व्यावसायिक फूल खेतीमा लागेको उहाँले बताउनुभयो ।
विदेशमा श्रमको मूल्य बुझेपछि स्वदेशमै श्रम खर्च गर्न सके यहीँ सुन फलाउन सक्ने अठोट बनाउनुभयो । त्यही बेला उहाँको मनमा फूलखेती गर्ने अनौठो योजना बन्यो । सुरुमा उहाँलाई फूलखेती कस्तो होला भन्ने लागेको थियो तर बजारको माग र अवस्था बुझेर काम सुरु गरेपछि सात वर्षअघि घोराहीमा– ६ कट्ठा जग्गा भाडामा लिएर परीक्षणका लागि १ कट्ठाबाट फूलखेती सुरु गर्नुभएको रोकामगरको व्यवसाय फक्रिँदै गएको छ ।
सुरुवाती चरणमा बजारमा फूल बिक्रीका लागि लैजाँदा फूल पनि बेच्छन् रु भन्ने मानिस अहिले ग्राहक बनेको उहाँको भनाइ छ । फूल टिप्नु हुँदैन, पाप लाग्छ भन्ने समाजमा रहेको गलत मान्यतालाई चिर्दै फूलको व्यावसायिक खेती थालेको उहाँ अहिले सफल फूल व्यवसायी बनेको छ । घोराही– १४ झिङगौरामा रोकामगरले करिब एक बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । लगातारको परिश्रम, काममा विश्वास र श्रमको सम्मान गर्दै जाँदा अहिले फूल व्यवसायी बनेर परिचित हुन पाउँदा आफूलाई मनमा निकै सन्तोष मिल्ने गरेको उहाँको भनाइ छ ।
पहेँलपुर फुलेका सयपत्री फूलको बगैँचामा काम गर्दै रोकामगरले भन्नुभयो, “सुरुसुरुमा फूल संस्कृतिको विकास गर्न चुनौती सामना गर्नुप¥यो, विस्तारै सबैले यसको महत्व बुझ्दै गएपछि, अहिले राम्रो भएको छ, यसले पनि मलाई काम गर्नमा थप हौसला मिलेको छ ।” उहाँले सुरुआती चरणमा फूलको नर्सरी र मौसमी फूलखेती गर्दै आउनुभएको थियो । जिल्लामा दसैँ, तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेको उहाँले बताउनुभयो । “मैले सुरु गर्ने बेलामा दाङमा व्यावसायिक रुपमा फूलखेती कतै भएको थिएन, काठमाडौँतिर फूलखेती व्यावसायिक रुपमा गरेको देखेको थिएँ अनि मैले यहाँ गर्दा कसो नहोला र भन्ने सोँच बनाएँ”, रोकामगरले भन्नुभयो ।

लुम्बिनी प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि केही अनुदान सहयोग गरेको उहाँको भनाइ छ । “जलजला पुष्पखेती”को नामबाट नर्सरी स्थापना गर्नुभएका रोकामगरले विभिन्न प्रजातिका फूल बिक्री गर्दै आउनुभएको छ । दैनिकजसो फूल खरिद गर्न स्थानीय तथा जिल्ला बाहिरबाटसमेत ग्राहक आउने गरेको उहाँको भनाइ छ । रु एक लाखबाट सुरु गरेको फूलखेतीमा अहिले करिब रु सात लाख लगानी रहेको उहाँले जानकारी दिनुभयो । सुरुआतमा स्थानीय जातको फूल रोपेर खेतीको थालनी गर्नुभएका रोकामगर अहिले विभिन्न जातका फूलखेती गर्नुभएको छ । उहाँको फूलबारीमा तिहारका लागि सयपत्री फूलिसकेका छन् । तिहारका लागि सयपत्री फूलका माला बनाउन उहाँलाई भ्याइनभ्याइ छ । तिहारमा यो पटक करिब सात हजार माला बिक्री गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।
जिल्ला बाहिरबाट माग आएको भए पनि स्थानीय बजारमा खपत भइरहेको हुँदा जिल्लालाई प्राथमिकता दिएर फूल रोपेको बताउँदै उहाँले फूल व्यवसाय प्रवद्र्धनका लागि स्थानीय सरकारले पनि सहयोग गर्दै आएको छ भन्नुभयो । यसले आफू थप उत्साहित भएको रोकामगरको भनाइ छ । उहाँको फूलबारीमा सिजन अनुसार काम गर्ने मानिस थपेर राख्ने गरेपछि दैनिक रुपमा दुई जना कामदारले रोजगारी दिएको बताउनुभयो । जिल्लामा फूललाई टिपेर लामो समयसम्म राख्न मिल्ने चिस्यान केन्द्र यहाँ नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ फूलका लागि चिस्यान केन्द्र छैन, जसले गर्दा लामो समयसम्म फूललाई जोगाउन कठिन छ, फूलको स्टोर आवश्यक छ ।”

अहिले तुलसीपुर र घोराहीका अन्य स्थानमा पनि मौसमी रुपमा सयपत्रीको फूलखेती गरिएको छ । घोराहीका अन्य स्थानमा पनि व्यावसायिक फूलखेती गरिएको छ । तुलसीपुर– सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–८ दोघरेमा पनि सयपत्री फूलखेती गरिएको छ । स्थानीय पाँच जना युवा मिलेर संयुक्त लगानीमा फूलखेती गरिएको छ । करिब सात कठ्ठा क्षेत्रफलमा रोपिएको सयपत्री फूल अहिले फुलेर ढकमक्क बनेको फूलखेती गर्दै आउनुभएको झग्गु भण्डारीले बताउनुभयो ।

उहाँका अुनसार पाँच युवा मिलेर जग्गा भाडामा लिएर बेलुवामा तीन महिना पहिले सयपत्री फूलखेती गरिएको छ । तिहारलाई लक्षित गरी फूलखेती गरेको बताउनुभयो । दाङमा व्यावसायिक रुपमा फुलखेतीतर्फ युवाको आकर्षण बढ्दै गएको छ । बाणगङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पङ्गेनीले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्दै आउनुभएको छ । कपिलवस्तुमा चार वर्षदेखि फूलखेती गरिरहनुभएका पङ्गेनीले दाङमा १० कट्ठा जमिन मासिक दुई हजार भाडा दिने सर्तमा फूलखेती गर्नुभएको छ । स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले रु पाँच लाख लगानी गरेर खेती सुरु गरेको उहाँको भनाइ छ ।
अहिले विभिन्न स्थानबाट फूलको माग आएको हुँदा माला बनाउने काम पनि सुरु गरिएको उहाँले जानकारी दिनुभयो । करिब पाँच हजार माला बिक्री गर्ने लक्ष्यका साथ फूल रोपिएकोमा फूल निकै रामे्रासँग फुलेको पङ्गेनीको भनाइ छ । स्थानीय महिलालाई फूलका माला बुन्न उहाँले रोजगारीसमेत दिनुभएको छ । एउटा माला बुनेबापत रु पाँच दिने गरेको उहाँको भनाइ छ । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएको फूल विदेशमा निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको कृषि विज्ञको भनाइ छ । जग्गा बाँझो छोडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूलखेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार निर्माण हुनुका साथै देशको अर्थतन्त्रमा समेत सहयो  उनीहरुको भनाइ छ ।–रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्