एस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

सरकारले बिभिन्न देशमा राजदूत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिस गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले बैमोसमी बर्षाका कारण बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका साना किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका मध्यम बर्गको किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसान अथवा आंशिक क्षति भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको उनले बताए । धानको न्युनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउने प्रवक्ता कार्कीले जानकारी दिए ।

बैठकले महालेखा परिक्षकको कार्यालयमा रिक्त महालेखा परिक्षक राजपत्राङ्कीत बिशिष्ट श्रेणीमा महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारतका भ्रमका लागि स्वीकृत दिने र सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै बैठकले सुनकोशी मरिन डाइभरसनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि भएको छ । त्यस्तै बैठकले बिहीबार मध्यरातीदेखि नै संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । भदौ २३ गते शुरू भएको चालू अधिवेशनको सवै बैठकमा प्रतिपक्षी एमालेले अवरोध गर्दै आएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्