खानेपानीमा सहज पहुँचः स्थानीयवासीमा खुसीयाली

Ad
  • कालोपाटी सम्बाददाता

खलङ्गा, । जुम्लाको तातोपानी गाउँपालिका–१ स्थित बाइराँका गाउँमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ ।

करिब तीन दशकदेखि पानीको चरम सङ्कटमा जीवन बिताउन बाध्य भइरहेकाले खानेपानीमा सहज पहुँच पुगेपछि उनीहरु खुसी भएका हुन् । अहिले गाउँमा लिफ्ट एरिकेसनको माध्यमबाट खानेपानी पुगेपछि स्थानीयवासी हर्षित भएको सोही गाउँका जोखबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “एक सय ४० घरधुरी भएको बाइराँमा एक धारा मात्र हुँदा प्रत्येक घरलाई चार दिनको एकपटक पानी भर्ने पालो बाँडिएको थियो । त्यसमा पनि २० लिटर मात्रै पानी भर्ने नियम थियो ।” अहिले गाउँको सिरानमा २० हजार लिटरको रिजर्भ ट्याङ्की बनाइएको छ । चार धाराबाट बाइराँवासीले पर्याप्त खानेपानी पिउन पाएको स्थानीयवासी शाहीको भनाइ छ ।

“गाउँको छेउमै तिला नदी छ तर नदीमा पिउनयोग्य पानी बग्दैन, हामीले वर्षौंसम्म त्यही नदीको दूषित पानीले प्यास मेट्यौँ”, स्थानीयवासी विमला शाहीले भन्नुभयो, “खानेपानी जोहो गर्नकै लागि विद्यार्थीको पढाइ प्रभावित हुने गरेको थियो । अहिले त्यो समस्या हटेको छ ।” उहाँका अनुसार बिहान र बेलुका विद्यार्थीलाई गाग्री बोकेर नदी पुग्नुपर्ने बाध्यता थियो । तर अहिले गाउँमा पानी पुगेपछि बालबालिकालाई सहज भएको छ । “पानी सार्दै विद्यालय छुट्थ्यो, आजभोलि सरसफाइ गर्नसमेत सहज भएको छ”, उहाँले भन्नुभयो ।

खानेपानी पाउनै धौ धौ पर्ने बाइराँकामा सिँचाइ र वस्तुभाउका लागि पानी पुग्ने कल्पना नै थिएन । लिफ्ट एरिकेसनमार्फत पानी पुगेपछि तरकारी बारीमा सिँचाइ गर्न तथा वस्तुभाउलाई पानी दिन सहज भएको छ । पानी बोकेरै जिन्दगी बित्ने चिन्ता बोकेका स्थानीयवासी गाउँमा पानी पुग्छ भन्ने कल्पना पनि गरेको थिएन । हाल बाइराँका गाउँका एक सय ४० घरधुरीसहित गाउँको विद्यालयले पनि खानेपानी उपभोग गर्न पाएका छन् ।

करिब आठ वर्षअगाडि देखि सुरु भएको सो खानेपानी आयोजना अलपत्र परेको थियो । खानेपानीकै लागि यहाँका स्थानीयवासीले रित्तो गाग्री बोकेर सदरमुकाममा समेत आन्दोलन गरेका थिए । प्रदेश सरकारको रु २० लाख बजेटमा तिला नदीबाट झण्डै एक किलोमिटरमाथि पानी तानिएको बाइराँका खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष मात्रै गाउँमा खानेपानी पु¥याउन सफल भएका  । अब क्रमशः घरघरमा धारा विस्तार गर्ने योजनाका साथ लागिरहेको छु ।”

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्