पूर्वाधार निर्माणमा जोड दिँदै बन्दीपुर

Ad
  • कालोपाटी सम्बाददाता

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई जोड दिएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँपालिकाले वडा र स्वास्थ्य कार्यालयका भवन निर्माणलाई तीव्रता दिएको हो । जनप्रतिनिधि निर्वाचित भएर आएपछि तीनवटा भवन निर्माण सुरु गरिएकामा दुईवटा भवन निर्माण सम्पन्न भएको छ भने एउटा निर्माणाधीन अवस्थामा छ ।

बन्दीपुर गाउँपालिका–१ को वडा कार्यालय भवन केही समयअगाडि मात्रै सम्पन्न भएको हो । रु एक करोडको लागतमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ३ को कार्यालय पनि सम्पन्न भएर उद्घाटनको तयारीमा रहेको छ । वडा नं २ को कार्यालय भवन भने निर्माणमा केही ढिलाइ भएको छ । “ठेकेदारको लापरबाहीका कारण वडा नं २ को भवन निर्माणमा ढिलाइ भइरहेको छ,” उहाँले भन्नुभयो, “छिटो भवन निर्माण गर्न दबाब दिइरहेका छौँ ।”

वडा नं ५ को वडा कार्यालय विद्यालय भवनमा र ६ को पुरानै गाविस भवन मर्मत गरेर सञ्चालन भइरहेको छ । वडा नं ४ को कार्यालय खड्गदेवी मन्दिरका आडमा रहेको पुरानो विद्यालय भवनमा सञ्चालन भइरहेको छ । वडा नं ४ को भवन निर्माणका लागि जग्गा नपाइएको थापाले बताउनुभयो । “जग्गा नपाएका कारण उक्त वडाको भवन निर्माण गर्न सकिरहेका छैनौँ, गाउँपालिकाकै नजिक रहेको एक पुरानो भवनमा वडा कार्यालय सञ्चालित छ,” उहाँले भन्नुभयो ।

वडा कार्यालय भवन निर्माणसँगै गाउँपालिकाले वडा कार्यालयसम्म पुग्ने बाटो कालोपत्रसमेत गर्न थालेको छ । सोही बमोजिम वडा नं १ को कार्यालयसम्म पुग्ने बाटो कालोपत्रका लागि ग्राभेल सकिएको छ । वडा नं २ को कार्यालयसम्म पुग्ने बाटो भने कालोपत्र सम्पन्न भइसकेको छ भने ३ को कार्यालयसम्म पुग्ने बाटो सम्याउने काम भइरहेको छ । ४ को भवन गाउँपालिका भवनसम्म कालोपत्र भइसकेको छ भने ६ मा वडा कार्यालयतर्फबाट कालोपत्र गरिएको छ । “आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित वडा कार्यालय भवन निर्माणलाई प्राथमिकता दिएका छौँ,” अध्यक्ष थापाले भन्नुभयो, “त्यसले सहज रुपमा सेवा प्रवाह गर्न पनि सहयोग पुग्छ ।”

वडा नं १ को वडा कार्यालय भवनको केही समयअघि मात्रै उद्घाटन गरिएको छ । वडा कार्यालयको भवन निर्माणका लागि बन्दीपुर गाउँपालिका–१ का कृष्णराज अधिकारीले आठ आना, कास्कीको घान्द्रुकका कुलप्रसाद गुरुङले आठ आना, बन्दीपुर गाउँपालिका–१ का सुनिल अधिकारीले तीन आना, पोखराका हेमबहादुर थापा, पूर्णकुमारी बराल, मोहनकुमारी कटुवाल र मानबहादुर थापाले संयुक्त रुपमा आठ आना जग्गा भवन निर्माणका लागि दान दिनुभएको थियो ।

गाउँपालिकाले स्वास्थ्य संस्थाको भवन निर्माणलाई समेत प्राथमिकता दिएको छ । सोही बमोजिम वडा नं १ र ३ मा स्वास्थ्य केन्द्रको भवन निर्माणाधीन अवस्थामा रहेको छ । असोजभित्र भवन निर्माण सम्पन्न हुने थापाले बताउनुभयो । वडा नं २ को भवनको केही दिनअघि उद्घाटन भइसकेको छ । वडा नं ५ को भवन निर्माण सम्पन्न भएर उद्घाटन गरिएको छ भने ६ को पुरानै भवनबाट सेवा प्रवाह भइरहेको छ । वडा नं ४ मा भने बन्दीपुर अस्पताल रहेकाले थप स्वास्थ्य संस्थाको भवन निर्माण गरिएको छैन ।

वडा नं ५ स्थित कल्चोक स्वास्थ्य केन्द्रको भवन रु ३८ लाखमा सम्पन्न भएको हो । भवन निर्माणका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएको थियो । स्थानीयवासीले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिएको वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिनुभयो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्