अपाङ्गता भएका ५० जनालाई सिरक वितरण

Ad
  • कालोपाटी सम्बाददाता

सप्तरी । अपाङ्गता भएका व्यक्तिको ३०औँ अन्तर्राष्ट्रिय दिवस आज राजविराजमा अपाङ्गता भएका ५० जनालाई सिरक वितरण गरी मनाइएको छ ।

नजिकिएको जाडोबाट जोगाउने उद्देश्यले समावेशी अपाङ्ग सङ्घ र बौद्धिक अपाङ्गताका अभिभावक सङ्घले राजविराजका ५० जनालाई सिरक वितरण गरी मनाएको हो । राजविराज नगरपालिकाको सहयोगमा समावेशी अपाङ्ग सङ्घको कार्यालयमा भएको कार्यक्रममा राजविराजका नगर प्रमुख शम्भुप्रसाद यादव, उपप्रमुख साधना झा, प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापा र प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई दोसल्लासहित सम्मानपत्र प्रदान गरियो ।

नगर प्रमुख यादवले अपाङ्गताको क्षेत्रमा धेरै काम गर्न नसकिएको जनाउँदै सम्बन्धित संस्थालाई योजनासहित कार्यक्रम ल्याउन आग्रह गरे । अपाङ्ग सङ्घले योजनासहित ल्याएको कार्यक्रम आगामी वर्षको बजेटमा राख्ने यादवले प्रतिबद्धता जनाए । उपप्रमुख साधना झाले अपाङ्गतालाई आत्मनिर्भर र सबल बनाउन विशेष योजनाको सोच रहेको बताए ।

इन्सेक प्रतिनिधि मनोहर पोखरेलले राज्यका हरेक क्षेत्रमा समान पहुँच र अवसर पाउने अपाङ्गमैत्री वातावरण तथा सोच आवश्यक रहेकामा जोड दिए । समावेशी अपाङ्गता सङ्घका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष अरुण यादव र बौद्धिक अपाङ्गताका अभिभावक सङ्घका अध्यक्ष जगदीश अर्यालले अपाङ्गता अनुकूलको वातावरण र संरचनामा जीवनयापन गर्न सक्ने वातावरण सिर्जना होस् भनेर शुभकामना व्यक्त गए ।

राजविराजका १६ वटै वडाका अपाङ्गता भएका व्यक्तिलाई सिरक वितरण गरिएको कार्यक्रममा अधिकांश वडाध्यक्षको उपस्थिति थियो । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्