सुन्तलाको मूल्य बढ्ने आशमा किसान

Ad
  • कालोपाटी सम्बाददाता

बलेवा । उमेरले ६० कट्नुभएका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याइ छ । बिक्रीका लागि तयार भएको सुन्तलामा औसा किरा लाग्ने त्रासले सुवेदी दम्पत्ति बगानमा हुन्छन् । जैमिनी नगरपालिका–५ सर्कुवामा रहेको सुन्तला बगान सुवेदी परिवारको मुख्य आयस्रोत हो । झरेको सुन्तला गाड्ने, ओइलिएको पात झार्ने र बिरुवामा रोग लागे नलागेको हेर्ने उनीहरुको दैनिकी हो । गतवर्ष रु चार लाखमा बिक्री भएको उनको बगानका लागि यसवर्ष पनि पोखराका व्यापारीले बैना लगाएका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला खरिदका लागि आएका व्यापारीसँग मोलमोलाई गर्न भ्याइनभ्याइ छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फूल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ ।

व्यापारी बगानमै पुगेर मोलमोलाइ गर्न थालेका छन् । पोखरा, चितवनदेखि बागलुङ र म्याग्दीसम्मका व्यापारी सुन्तला खरिद गर्न आउन थालेको सिगानाका किसान अनन्त खड्का बताउँछन् । “व्यापारी आएका छन्, तर बिक्री सुरु गरेका छैनौँ, पुसको पहिलो साताबाट बिक्री गर्नुपर्ला”, खड्काले भने । गत वर्षभन्दा यसवर्ष सुन्तलाको मूल्य बढ्ने आशामा किसान छन् । जैमिनीका खगेश्वर र सिगानाका अनन्त दुवैले गत वर्षभन्दा यसवर्ष बगान नै खरिद गर्ने व्यापारीलाई रु एक लाख मूल्य बढाएर दिने सोँच बनाएका छन् ।

सर्कुवामा सुवेदी परिवारको मात्रै ठूलो बगान छ । अरु आसपासका किसानले फुटकर बिक्री गर्छन् भने सिगानामा साना–ठूला गरी ७० बगान छन् । बजारसम्म पु¥याउँदा दोब्बर फाइदा लिन सकिने भएकाले व्यापारी यहाँको सुन्तलाप्रति आकर्षित हुने सुवेदी बताउँछन् । गतवर्ष बगानमै ठेक्का लिँदा प्रतिकिलो रु ४० देखि ५० सम्ममा सुन्तला बिक्री भएको थियो । यस वर्ष मूल्य बढेर रु ६० देखि ७० पुग्ने आशा किसानमा छ ।

“एक हजार मिटर तल लगाइएको सुन्तलामा रोग लागेको खबर पाएका छौँ, उत्पादन कम हुने भएकाले देशभरिको बजारमा हाम्रो सुन्तलाको मूल्य स्वभाविक बढ्छ”, खड्का भन्छन् , “गतवर्ष अन्तिम समयमा हामीले रु १००मा एक किलो बिक्री गरेका थियौँ, यसवर्ष सुन्तला राम्रो फले पनि अधिक वर्षाले किरापर्ने र झर्ने समस्या झेल्नुप¥यो ।” डोके व्यापारीले बगानबाट प्रतिकिलो रु ५० मा उठाएको सुन्तला बजारमा रु १०० का दरले बिक्री गर्दै आएका छन् । सुन्तला बिक्रीबाट गतवर्ष झण्डै रु एक करोड सिगानामा भित्रिएको थियो ।

“बगानबाटै व्यवसायीले सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झण्झट कम हुन्छ”, खड्काले भन्नुभयो । रोग किराको प्रकोप जिल्लाभर नै रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तला र कागती जातका फलफूलमा देखिएको रोग नियन्त्रणका लागि शिविर नै सञ्चालन गरेर सुविधा दिइएको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । उत्पादन लिने बेलामा देखिने समस्या तत्काल समाधान गर्दा किसानले ठूलो क्षति व्यहोर्नुनपर्ने उनको भनाइ छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्