गैँडाकोटमा थपिए साढे दुई करोडका विभिन्न योजना

Ad
  • कालोपाटी सम्बाददाता

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकाले वडास्तरबाट माग भएर आएका विभिन्न ३९ योजना कार्यान्वयन गर्नेगरी थप गरेको छ । अठार वडा रहेको नगरपालिकामा १६ वडाबाट माग भएका थप ती योजनाहरु कार्यान्वयन गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज पौडेलले जनकारी दिए ।

नगरपालिकाको वडा नम्बर ३ र १८ बाट थप योजना माग नभएको बताइएको छ । योजना माग भएर आएका वडाका लागि नगरपालिकाले थप रु दुई करोड ४५ लाख ९९ हजार विनियोजन गरेको नगरप्रमुख पौडेलले बताए । गत साउनयता वडाबाट वडा समितिको सिफारिस भई आएका थप योजनामा छलफल पश्चात ८१औँ नगर कार्यपालिकाको बैठकले योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले वडा समितिको सिफारिस भएका योजना संचित कोषबाट रकम छुट्याइ योजना कार्यान्वयन गर्ने निर्णय गरेको बताउनुभयो । छुट्याइएको योजना अधिकांश सडकमार्ग र पुनः कालोपत्रे गर्नकालागि छन् । गैँडाकोट १ मा मन्दिर र सडकका पूर्वाधार निर्माणका रु १५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै वडा नम्बर २ मा रु १६ लाख, वडा नम्बर ४ मा रु १५ लाख, वडा नम्बर ५ मा रु १७ लाख, वडा नम्बर ६ मा रु १५ लाख विनियोजन गरिएको सुवेदीले बताउनुभयो । वडा नम्बर ७ मा तटबन्ध गर्ने तार जालीका रु १६ लाख ९२ हजार, वडा नम्बर ८ मा सडक मर्मतका लागि रु १५ लाख, वडा नम्बर ९ ग्याबिन तथा सत्सङ्ग भवनका लागि रु १५ लाख छुट्याइएको सुवेदीको भनाइ छ । त्यसैगरी वडा नम्बर १० मा विद्यालयको गेट, कृषि तथा नाला र बाटोको लागि रु १५ लाख, वडा नम्बर ११ मा सडक पुनः कालोपत्रका लागि १५ लाख, वडा नम्बर १२ मा ग्याबिन र तटबन्धका लागि रु १६ लाख, तथा वडा नम्बर १३ मा सडक कालोपत्रेका लागि रु १५ लाख खर्च गर्ने निर्णय भएको उहाँले जानकारी दिए । गैँडाकोट १४ मा सडक कालोपत्रेका लागि रु १५ लाख, वडा नम्बर १५ मा सडक पुनः कालोपत्रेका लागि रु १५ लाख, वडा नम्बर १६ मा खोला नियन्त्रणका लागि रु १५ लाख र वडा नम्बर १७ मा खोला नियन्त्रणका लागि रु १५ लाख विनियोजन भएको सुवेदीले जानकारी दिए ।

त्यसैगरीे बैठकले नारायणी नदीले छोडेको खाली जमिनको संरक्षण गर्नका लागि नापनक्साङ्कनको काम गर्ने निर्णय गरेको छ । नदीले धार परिवर्तन गर्दा गैँडाकोटर्फ खाली छोडेको जग्गाको नापनक्साङ्कन गर्दै संरक्षण गर्ने काम गर्न लागिएको नगरप्रमुख पौडेलले बताए । नगरपालिकाको वडा नम्बर ६, ७ र ९ को नारायणी नदीले छोडेको जमिनलाई नापनक्सा तथा संरक्षण गर्न लागिएको नगर पौडेलले बताए । सो नदीले छोडेको जमिनलाई नाप नक्सा तथा संरक्षणका लागि सङ्घीय सरकारको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एवं विभागमा पत्राचार गर्ने तयारी गरिएको उनले बताए –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्