दोलखामा चार हजार नयाँ मतदाता

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । आगामी निर्वाचनका लागि दोलखा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा करिब चार हजार मतदाता थपिएका छन् । कार्यालयले जिल्लाको नौ ओटै स्थानीय तहमा सञ्चालन गरेको नामावली सङ्कलन अभियानमा तीन हजार ९१९मतदाता थप भएको हो ।

जिल्लाको नौ ओटै स्थानीय तहमा गत मङ्सिर १७ गतेदेखि पुस ९ गतेसम्म दुईचरणमा गरिएको नामावली सङ्कलनमा दुई हजार ८८ पुरुष र एक हजार ८३१ महिला थपिएको कार्यालयका निमित प्रमुख विशाल केसीले बताउनुभयो । स्थानीय तहमध्ये बिगु गाउँपालिकामा सबैभन्दा बढी ९८९र कालिञ्चोकमा सबैभन्दा कम १३९ जना थपिएका थिए ।

जिल्लामा २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा महिला ७५ हजार ३८४ र पुरुष ७५ हजार ८११ जना गरी एक लाख ५१ हजार १९५ मतदाता थिए । त्यसपछि अभियान सङ्कलन सुरु गर्दासम्म एक लाख ५७ हजार १४१ जना पुगेका छन् भने चार हजार १५९ जनाको मृत्यु भइसकेको जनाइएको छ । मतदाता नामावली सङ्कलनमा नाम दर्ता गराउन छुट भएका नागरिकको हकमा निर्वाचन आयोगबाट निर्देशन जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई दर्ता गराउन सकिने बताइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्