पुरुष पनि घरेलु हिंसामा, न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिनेको सङ्ख्या बढ्दो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेका छन् । घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन धेरै पुरुषहरु पुगेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिएका छन् । उनका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन् । तर, पुरुषले दिने उजुरीको तुलनामा महिलाको सङ्ख्या अत्यधिक छ ।

प्रहरी निरीक्षक विष्टले भने, ‘अधिकांश हिंसामा परेको उजुरी महिलाको तर्फबाट आउने गरेका छन् । कतिपय अवस्थामा पुरुषको तर्फबाट पनि उजुरी आइरहेका छन् । हामीले आवश्यक कारबाही गरिरहेका छौँ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार बाँकेमा पछिल्लो तीन वर्षमा घरेलु हिंसाका २ हजार ७ सय ५० वटा उजुरी दर्ता भएका छन् । अधिकांश घटनामा महिला पीडित रहेका छन् । अहिले पुरुषलेसमेत आफूमाथि हिंसा भएको भन्दै उजुरी दिन थालेका छन् ।’

त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक वर्ष २०७७-७८ मा ७ सय ३८, २०७८-७९ मा ८ सय ८९, २०७९-८० मा ८ सय ८५ र चालु आवको साउनदेखि हालसम्म घरेलु हिंसामा परेको जनाउँदै ३ सय ३२ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले हिंसामा परेको भन्दै उजुरी दिने महिलामा बयान फिर्ता गरी उजुरी फिर्ता हुने प्रवृत्ति पनि देखिएको बताएका छन् ।

उनले भने, ‘निवेदन दिइसकेपछि कतिपय निवेदनकर्ता सम्पर्कमा आउँदैनन् । प्रतिशोध साँध्नका लागि उजुरी दिने र त्यसपछि वास्तै नगर्ने प्रवृत्तिसमेत बढ्दै गएको छ । उजुरी परेपछि हिंसासँग जोडिएका घटनालाई सुक्ष्मरूपले गम्भीरतापूर्वक अनुसन्धान गर्ने गरिएको छ ।’

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्