नुवाकोटको स्थानीयका प्रयासमा सरकारी जग्गा संरक्षणको अभियान सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नुवाकोटको तारकेश्वरमा स्थानीयको प्रयासमा सरकारी जग्गा संरक्षणको अभियान सुरु भएको छ । तारकेश्वर गाउँपालिका-३ को चन्दनीस्थित सार्वजनिक जग्गामा सरकारी भवन र केही मन्दिर रहेकोमा बाँकी जग्गाको नापनक्सा गरी संरक्षण थालनी भएको हो ।

चन्दनीका स्थानीयले संरक्षणका लागि समिति गठन गरी पालिकाबाट नापी र मालपोतबाट प्रतिनिधि खटाई जग्गाको नापजाँच थालेको स्थानीय कृष्णमान प्रधानले जानकारी दिएका छन् । सार्वजनिक जमिनमा कुनै व्यक्तिले कुनै संरचना बनाएका भए त्यसलाई हटाउन सार्वजनिक सूचना गरेका छन् । जमिनको नापजाँच गरी सार्वजनिक जग्गा कायम गरी साविकबमोजिम बाटो, मन्दिर र उद्यान निर्माणमा सहयोग गर्न स्थानीयले पालिकासँग अनुरोध पनि गरेको स्थानीय प्रधानले बताएका छन् ।

त्यस्तै, सरकारी जग्गाका रेखाङ्कन गर्ने क्रममा कुनै निजी भवन बनाएको तथा जग्गा अतिक्रमणमा परेको पाइएमा सार्वजनिक जग्गाको लगत व्यवस्थापन गर्दै सार्वजनिक हितका लागि सामूहिक प्रयास गर्ने स्थानीयको प्रतिबद्धता जाहेर भएको छ । पर्यटन प्रवर्द्धनको प्रशस्त सम्भावना भएको चन्दनी र त्यहाँबाट देखिने मनोरम दृश्यसम्बन्धी प्रचार-प्रसार गर्ने विषयलाई पनि स्थानीयले जोड दिएका छन् ।

सोही क्रममा त्यस क्षेत्रबाट काठमाडौँ आएर विभिन्न पेसा व्यवसाय आबद्ध स्थानीयको भेलाले चन्दनीको विकास, धार्मिकस्थल र सार्वजनिक जग्गाको संरक्षणका लागि आ-आफ्नो ठाउँबाट प्रयास गर्ने निर्णय गरेको छ । सडक विस्तारका क्रममा भत्काइएका ऐतिहासिक एवं पुरातात्विक महत्वको गोरखकाली मन्दिर निर्माणका लागि स्थानीय निकायले विनियोजन गरेको बजेट तत्काल निकासा गरिदिन पालिकासँग अनुरोध गरेका छन् ।

उक्त मन्दिर निर्माणका लागि स्थानीय निकायले ५ लाख रुपैयाँ सहयोग गर्ने र बाँकी रकम चन्दा सङ्कलनबाट जुटाउने भएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्