डलर साटिदिने बहानामा लुटपाट, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो ।

उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिएका छन् । उनका अनुसार यसरी डलर साट्ने नाममा लुटपाटका घटना भएको प्रहरीमा जानकारी आएपछि केही दिन अघिदेखि टोली परिचालन गरेको उनले बताएका छन् ।

यस्ता गिरोह सक्रिय रहेको छ भन्ने जानकारीका अनुसार प्रहरी परिसर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मङ्गलबारसम्म आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौँको सामाखुसी बस्ने ३४ वर्षिय खड्कबहादुर तामाङ, मोरङ घर भई सोही ठाउँका ३६ वर्षिय अशोक लिम्बू, सिन्धुपाल्चोकका रामबहादुर लामा, भक्तपुरको दुवाकोट बस्ने ३६ वर्षिय सुब्बा तामाङ, काठमाडौँको तारकेश्वर बस्ने ४५ वर्षिय चन्द्रबहादुर तामाङ, सिन्धुपाल्चोककै रेलबहादुर तामाङ, देवराज तामाङ र मञ्जु भन्ने कृष्णकुमारी तामाङ रहेका छन् ।

उनीहरूको साथबाट ५० को १६ थान सक्कली अमेरिकन डलर, दुईवटा राहदानी, तिलहरी र एउटा स्कुटर प्रहरीले बरामद गरेको हो । प्रकाउ परेका व्यक्तिहरुको थप अनुसन्धान भइरहेको छ । उनीहरूमार्फत यसरी लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्