चुडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अदालतले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्च अदातलमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

प्रवक्ता घिमिरेका अनुसार चुडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माका बारेमा विशेष अदालतले गत जेठ १८ गते गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो । तर, आयोगले विशेष अदालतको सो फैसलामा चित्त नबुझेको भन्दै विभिन्न जिकिर लिँदै सर्वोच्चमा पुनरावेदन गरेको छ ।

आयोगका अनुसार चुडामणि शर्माको जाँच अवधिको समग्र व्यय ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ र आय ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ १५ पैसा देखिएको अख्तियारले जनाएको छ । उक्त हिसाबमा शर्माले ३ करोड ४५ लाख ३२ हजार ३ सय ५६ रुपैयाँ ८५ पैसा बराबरको रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगले दाबी गरेको छ ।

आयोगले उक्त रकम शर्माले गैर कानुनी रुपमा आर्जन गरेको दाबीसहित सर्वोच्च अदालतमा पुनरावदेन दिएको हो । आयोगले सर्वोच्च अदालतमा पुनरावदेन गर्दा विशेष अदालतको फैसला खण्डन गर्ने विभिन्न आधारसमेत पेस गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्