म्याग्दीमा आठ महिनामा ६ वटा सडक पुल निर्माण !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । म्याग्दीमा आठ महिनाका अवधिमा ६ वटा नयाँ सडक पुल निर्माण सकिएको छ । थप एकवटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ ।

ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ । संघीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीनवटा पुल निर्माण भएका हुन् । यस वर्ष दुईवटा मोटरेबल पुल निर्माण सुरु गरेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले थप दुईवटा पुलको ठेक्का लगाउने तयारी गरेको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत अन्नपूर्ण गाउँपालिका-५ र ६ को सिमाना घारखोलामा २५ मिटर लामो मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि फेवा-बिएम जेभी पोखरासँग विसं २०७६ माघ १७ गते मूल्य अभिवृद्धि कर (भ्याट )सहित २ करोड ८१ लाख ७८ हजार ६ सय ४६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

त्यस्तै, सडक विभागको पुल महाशाखाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम पुल निर्माण गरेको छ । बिओकेआई-हिमालयन जेभीले भ्याटसहित ८ करोड ३० लाख ६८ लाख ४ सय ७३ रुपैयाँमा विसं २०७८ असार २९ गते सम्झौता गरेको यो पुल लक्ष्यभन्दा छ महिनाअघि नै सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय बाग्लुङले बेनी नगरपालिका-४ फापरखेत र मङ्गला गाउँपालिका-३ बरञ्जाको पखेर जोड्ने १ सय १७ मिटर र मङ्गला गाउँपालिका-२ माटेबगर र वडा नं ५ पोक जोड्ने ८० मिटर लामो दुईवटा मोटरेबल पुल बनाएको छ । म्याग्दी नदीमाथि बनेका दुईवटै पुल निर्माणका लागि विसं २०७५ पुसमा लुम्बिनी-प्राकृतिक जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच २२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल बनेपछि जिल्लाको मुख्य बेनी-दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरञ्जा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मंगला गाउँपालिकाका-३ का वडाअध्यक्ष याम रोकाले जानकारी दिएका छन् ।

यस्तै, पूर्वाधार विकास कार्यालयमार्फत मालिका गाउँपालिका-१ र ६ को सिमानास्थित छ्यारछ्यारेको म्याग्दी नदीमा ४० मिटर लामो स्टिल ट्रष्ट प्रविधिको मोटरेबल पुुल निर्माण भएको छ । सो पुल निर्माणका लागि प्रदीप जुम्ली जेभीसँग २०७७ साल साउन ४ गते ४ करोड ४५ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना अर्गलास्थित मराङ खोलामा २५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल निर्माणका लागि विसं २०७६ फागुन २९ गते फेवा सावित्री जेभी पोखराले २ करोड ७२ लाख ९४ हजार ५ सय ६९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

मालिका गाउँपालिका-७ र धवलागिरि गाउँपालिका-७ भारवाङघाट स्थित म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । यो पुल निर्माणका लागि विसं २०७६ असारमा देव एन्ड सायर बिएन जेभीले रु छ करोड २४ लाखमा ठेक्का लिएको थियो । मालिका गाउँपालिका-३ र ४ को सिमानामा पर्ने अदिभारास्थित रितुङ खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण सुरु भएको छ । असोज अन्तिम साता ४ करोड १० लाख ८३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको बिएम कोन्डा जेभीले पुलको फाउन्डेसन खन्न सुरु गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताएका छन् ।

उनका अनुसार मङ्गला गाउँपालिका-३ र बेनी नगरपालिका-४ को सिमाना अर्चेखोलामा २५ मिटर लामो मोटरेबल पुल बनाउन असोज अन्तिम साता ३ करोड ४१ लाख १६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको प्रमाण सारस जेभी कार्यस्थलमा परिचालन हुने तयारीमा छ । धवलागिरि गाउँपालिका-२ को दरखोला र मालिका गाउँपालिका-७ शिवरात्रि खोलामा पनि मोटरेबल पुल निर्माणको तयारी भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले निर्माणाधीन पुललाई सम्पन्न गराउने र नयाँ पुल निर्माणसम्बन्धी योजना भित्र्याउन पहल गरेको बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्