अस्पतालले फोहर बिक्री गरेर आम्दानी गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।

अस्पतालमा प्राय: फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोत बनाएको छ । अस्पतालमा फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहरलाई मोहरमा परिणत गरेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले बताएका छन् ।

‘अव्यवस्थित फोहरलाई फोहरमैला व्यवस्थापन केन्द्रमा लगेर पुन:प्रयोग गर्न मिल्ने र बिक्री गर्न मिल्ने छुट्याउँछौँ ।’ भट्टले भने, ‘यसले अस्पताल सरसफाइमा टेवा पुग्नुका साथै मासिक रु बीस हजारसम्म आम्दानीसमेत हुने गरेको छ ।’ उनका अनुसार फोहरमैला व्यवस्थापन केन्द्रबाट अस्पतालले मासिक पन्ध्र हजारदेखि बीस हजारसम्म आम्दानी गर्ने गरेको छ । फोहर सङ्कलन गरेर सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने र फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिने उनले जानकारी दिएका छन् ।

‘कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ ।’ उनले भने,’अस्पतालमा एक महिनामा सात-आठ क्विन्टल फोहर उत्पादन हुने गरेको छ । यसमध्येको पुन:प्रयोग गर्न मिल्ने आधा भन्दाबढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्