काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई उपराष्ट्रपतिले यस्तो प्रस्ताव राखेका हुन् ।
कतारमा मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गरे ।
उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै र एकअर्कालाई समर्थन गर्दै आएकामा खुसी व्यक्त गरे ।
भेटमा कतारका राजदूत अन्सारीले दुईबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवर्द्धन तथा संरक्षणको पक्षमा रहेको बताए । कतारमा हाल चार लाख नेपाली कामदार रहेको जानकारी दिँदै उनले नेपाली श्रमिकको हितलाई कार्यान्वयन आफूले प्रयास गर्ने बताए ।