काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ । आज भएको खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरले अपराजित यात्रा कायमै राखेको हो ।
पोखराले दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै तीन विकेट गुमाएर भेटायो । जनकपुरका विदेशी खेलाडी लाहिरु मिलान्थाले ४५, आशिफ शेखले ३३ र जेम्स निशमले नटआउट ४० रन बनाए । पोखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले एकएक विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३८ रन बनायो । पोखराका मार्कस क्रिचलीले सर्वाधीक ३५ रन बनाए । जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिए ।
पोखराको आज लगातार दोस्रो हार हो । एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।