Skip to content

‘प्रधानमन्त्री र सचिवालयले हुकुमी शैलीमा शासन चलाएको छ’ : सांसद सिंह

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री र उनको सचिवालयको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान सरकार संसदीय नभई‘सल्लाहकारतन्त्र र हुकुमी शैलीमा चलेको आरोप लगाएका हुन्।

सांसद सिंहले संसदीय व्यवस्थाको मर्ममाथि प्रहार भएको भन्दै प्रधानमन्त्रीको सचिवालयको गतिविधिप्रति असन्तुष्टि जनाए। उनले भने, ‘हाम्रो संसदीय व्यवस्था प्रधानमन्त्रीय शासन प्रणाली हो, तर हाल यो सल्लाहकार शासन व्यवस्था’मा परिवर्तन भएको छ। मैले सरकारको केन्द्र सिंहदरबारलाई बुझेको थिएँ, तर अहिले सरकारको केन्द्र ज्वागल बनेको छ।’

उनले यस्तो हुकुमी शासन संविधानको कुन दफा र कुन ऐनको आधारमा चलिरहेको हो भन्दै प्रश्न गरे। सांसद सिंहले सरकारले कर्मचारीतन्त्रमाथि गरिरहेको हस्तक्षेपको डरलाग्दो उदाहरण प्रस्तुत गरे।

उनले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई बोलाएर दुई घण्टाभित्र रेड कर्नर नोटिस जारी गर भन्दै पेस्तोल देखाएर धम्क्याइएको घटनाबारे सदनमा जानकारी गराए।

राज्यका जिम्मेवार निकायलाई यसरी तर्साएर काम लगाउने शैलीले विधिको शासनलाई गिज्याएको उनको भनाइ छ।

उद्योगमन्त्रीबाट राजीनामा दिएकी गौरीकुमारी यादवको प्रसङ्ग निकाल्दै सांसद सिंहले प्रधानमन्त्री र उनको सचिवालयले मन्त्रीहरूलाई नै पेलेर अघि बढेको बताए।

उनले भने, ‘गौरीकुमारी यादवले त्यही दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन रातमा प्रहरी परिचालन गरिएको थियो। प्रधानमन्त्रीलाई मन्त्रीको काम चित्त बुझेन भने बर्खास्त गर्ने अधिकार छ, तर मन्त्रीलाई पक्राउ गर्न सचिवालयले प्रहरी परिचालन गर्ने ? यो सुनेर म झस्किन्छु कि म कुन देशको सांसद हुँ ?’

उनले सरकार सञ्चालनमा प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिको हस्तक्षेपकारी भूमिका र हुकुमी शैलीले लोकतन्त्रलाई नै कमजोर बनाएको दाबी गरे।

सांसद सिंहको यो गम्भीर आरोपले सरकारको कार्यशैली र सचिवालयको नियन्त्रणबारे संसद्‌मा ठुलो बहस सिर्जना गरेको छ। उनले सरकारलाई सल्लाहकारतन्त्रबाट मुक्त भएर विधि र प्रक्रियाअनुसार चल्न चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार