Skip to content

धनुषामा श्रीमतीको हत्या ,श्रीमान् मृत फेला, चार वर्षीय छोरा घाइते

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । धनुषामा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । घटनामा संलग्न रहेको आरोप लागेका उनका श्रीमान् पछि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घटनामा दम्पतीका चार वर्षीय छोरा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादव कात्तिक ७ गते राति करिब ९ बजे श्रीमतीसहित ससुराली पुगेका थिए । उनी मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुरालीमा बसेका थिए ।

प्रहरीलाई कात्तिक ८ गते बिहान करिब १ः५० बजे उमेशले श्रीमती ३० वर्षीया रिना यादव र उनीहरूसँगै सुतिरहेका चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेको सूचना प्राप्त भएको थियो ।

सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट लागेको र उनको मृत्यु भइसकेको अवस्थामा शव फेला पारेको थियो ।

घटनामा बालक सम्राटको दाहिने तिघ्रामा समेत काटिएको चोट लागेको प्रहरीले जनाएको छ । घाइते बालकलाई तत्काल स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराएर थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । प्रहरीका अनुसार बालकको अवस्था सामान्य रहेको छ ।

घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ । श्रीमतीको हत्या र छोरामाथि आक्रमणको घटनापछि उमेश घटनास्थलबाट फरार भएका थिए ।

प्रहरीले उनको खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ मा सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उमेशको शव फेला पारेको थियो ।

प्रहरीले रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । पहिलो घटनास्थलको मुचुल्का सम्पन्न भइसकेको छ भने उमेशको शव फेला परेको दोस्रो घटनास्थलको मुचुल्का गर्ने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

घटना के कारणले भएको हो भन्ने विषय अझै खुल्न सकेको छैन । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार