Skip to content

असोजमा ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशतर्फको आपूर्ति पुनः सुरु

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । गत वर्षको असोज र चालु आवको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त आम्दानी बढेको हो ।

प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभागका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात गरिएको छ । उक्त विद्युत भारतको हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौताअनुसार तथा भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको हो ।

गत वर्षको असोजमा भारततर्फ विद्युत निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै, चालु आवको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको विद्युत निर्यात भएको थियो । यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा नेपालले विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत निर्यातको कारोबार बढेको हो । असोजमा भारततर्फ निर्यात गरिएको विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको थियो ।

बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात पुनः सुरु

भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पुनः सुरु भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्‍याएपछि भदौ १० गतेदेखि निर्यात रोकिएको थियो ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि आपूर्ति पुनः सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति दिइएको छ ।

नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते भएको पाँचवर्षीय सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात हुँदै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बाढीबाट प्रभावित आयोजनाका बाबजुद अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

विद्युत निर्यात क्षमता १ हजार १७९ मेगावाट पुग्यो

भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यातको अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ ।

देशभित्रको माग पूरा गरेपछि बचत हुने वर्षायामको विद्युत भारत तथा बंगलादेशमा निर्यात गर्दै आएको नेपालले पछिल्लो विस्तारसँगै क्षेत्रीय विद्युत व्यापारलाई थप व्यवस्थित बनाउने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार