काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कार्यशैली र सोच बदल्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
सभापति वा नेताहरू आउँदा कार्यकर्ताहरू खादामालासहित विमानस्थल आउने गरेको भन्दै उनले यसो नगर्न आग्रह गरे।
‘हामीले निर्देशिका नै बनाएर पठाएको छ, नेता आउँदा लाइन लगाएर खादामाला लिएर विमानस्थलमा स्वागत गर्न आउने होइन,’ आज बिपी स्मृति पुस्तकालय पोखराले गरेको कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘नेतालाई स्वागत गर्न आउनेको भिड देख्दा पनि मानिसहरूलाई दिक्क लाग्छ होला नि !’
सभापति थापा सोमबार पोखरा विमानस्थल पुग्दा पनि नेताकार्यकर्ता स्वागतका लागि पुगेका थिए। त्यसपछि उनी स्याङ्जा गएका थिए।
त्यसक्रमको घटना सम्झँदै सभापति थापाले भने, ‘कांग्रेस सभापति आएको भनेर एक जना वृद्ध बाटोमा बसेर गाडी गन्दै हुनुहुन्थ्यो, २१, २२, २३ भनेर। गनेको के भन्दा गाडी। गाडीका ताँती। यस्ता साना कुरा हुन् तर बदल्नुपर्छ,’ सभापति थापाले भने, ‘हामी आमनागरिक हौं, आमनागरिकको कुरा हामीले सुन्न पाउनुपर्छ, बाटोमा पनि मानिसहरूसँग कुरा गर्दै हिँड्न पाइयोस् न। सभापति भनेको छ, अलगै राखेको छ, भेट्न आएका साथीहरूलाई धकेलेको छ। यो सब कुरा बदल्नुपर्छ।’
उनले मंसिर महिनाभर अभियान सञ्चालनको प्रस्ताव पनि गरेका छन्। पहिले कांग्रेस रहेका तर पछिल्लो समय अर्कै पार्टीलाई मतदान गरेकाहरूलाई पुनस् पार्टीमा जोड्न संवाद आवश्यक रहेको र त्यसका लागि मंसिर महिनाभर अभियान सञ्चालन तयारी रहेको सभापति थापाले बताए।
उनले केन्द्रीय सदस्यहरूलाई अब जिम्मेवारीसहित गाउँ-गाउँमा पठाइने बताए।
‘एक जना पनि केन्द्रीय सदस्य साथीलाई काठमाडौं बस्ने अवस्था आउन दिन्न, सबैलाई तल पठाउने हो, गाउँ(गाउँमा। अब चुनावको उम्मेदवार माथिबाट छान्दैन, जुन तहको निर्वाचन हो त्यही तहका साथीहरूले उम्मेदवार तय गर्ने हो। यो कुरा विधानमै व्यवस्था गरिएको छ। उम्मेदवार हुन चाहने र पार्टीका नेताहरू केन्द्रतिर बसिराख्ने होइन, तलतल जाने हो,’ सभापति थापाले भने।
उनले १५ औं महाधिवेशनमा पराजित भएका तथा महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका सबैलाई समेट्दै अघि बढ्ने पनि बताएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्