‘उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्छ’ : महामन्त्री थापा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन् । बुधवार किर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालको उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताएका हुन् ।

नेपालमा नयाँ संविधान बनेर संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै उनले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताए । महामन्त्री थापाले ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने, नखोल्ने र शिक्षाको सम्बन्धमा संघ र प्रदेशको जिम्मेवारी के–के हुने भन्ने विषयमा छलफल हुनुपर्ने बताए । विगतमा आफ्नो पार्टी प्रतिपक्षमा हुँदा पनि आफुले शिक्षा तथा स्वास्थ्य समितिमा र प्रधानमन्त्री तथा मन्त्रीहरुलाई पटक–पटक यस विषयमा कुरा राखेको भएपनि सुनुवाई नभएको बताए ।

वर्तमान सरकार बनिसकेपछि पनि निरन्तरको संसद अवरोधका कारण यस विषय प्राथमिकतामा पर्न नसकेको उनले उल्लेख गरे । उनले नेपालको उच्च शिक्षालाई कतातर्फ लैजाने भन्ने विषयमा मुलुकको जेठो विश्वविद्यालय हुनुका नाताले त्रिभुवन विश्वविद्यालयले नै नेतृत्वदायी भुमिका खेल्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । विश्वविद्यालयमा जिम्मेवारीमा रहनुहुने कसैले पनि राजनीतिक पूर्वाग्रह राखेका काम गर्नु नहुने उनले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्