कसरी फुटबल खेल्छन् सुस्त:श्रवण भएका खेलाडी ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सुस्त:श्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् ? धेरैलाई उत्सुकता लाग्ने विषय हो । उनीहरु मज्जासँग फुटबल खेल्छन् । उनीहरुका लागि कुनै विशेष मैदान हुँदैनन् । सामान्य खेलाडी खेल्ने मैदानमा ती खेलाडी खेलिरहन्छन् ।

बहिरा खेलाडीहरु इशाराको भरमा फुटबल खेल्छन् । उनीहरुका लागि सङ्केत नै काफी हुन्छ । बोल्न नसक्ने र कानले पनि नसुन्ने भएकाले उनीहरुका लागि इशारा बेग्लै हुन्छ । निर्णायक भूमिकाका लागि ‘रेफ्री’ पनि मैदानमा तैनाथी हुन्छन् । रेफ्रीको एउटा हातमा रातो र अर्को हातमा हरियो झन्डा हुन्छ । त्यसैगरी खेलाडीले गल्ती गरे रेफ्रीले सिटी बजाउँदैनन्, मात्र रातो झन्डा हल्लाउँछन् । अनि बल चलाउनका लागि हरियो झन्डाले इशारा दिन्छन् । प्रशिक्षकले इशाराले सिकाउँछन् । इशाराकै भरमा खेलाडीले आपसमा बल माग्छन् । गोल हुँदा दर्शकले हुटिङ गर्नुको सट्टा दुवै हातमाथि माथि उठाएर औँला फिजाएर खुसियाली साट्छन् ।

‘बुझ्नेलाई इशारा काफी छ’ भनेझैँ उनीहरुका लागि भाषाको सञ्चार हातको हाउभाउ हो । बागमती बहिरा महिला फुटबल टोलीकी कप्तान कोपिला गुरुङले आफूहरु यसरी नै फुटबल खेल्ने गरेको बताउँछन् । कोपिला गत शुक्रबार अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ का दिन बहिरा फुटबल खेल क्लब पोखराले आयोजना गरेका बहिरा महिला फुटबल प्रतियोगिता खेल्न पोखरा आएाी थिइन् । उनको टोली पोखरामा प्रथम भएको थियो । नक्साल बहिरा माविमा अध्ययनरत कोपिला बोल्न र सुन्न नसके पनि इशाराको भरमा सामान्य मानिसले जस्तै गरी फुटबल खेल्न सक्ने बताउँछिन् ।

‘हामी बोल्न र सुन्न नसके पनि सङ्केतको भरमा फुटबल खेल्न सक्छौँ, कुरा यति हो कि हाम्रा लागि पनि सरकारले केही सोचिदिनुपर्छ’, दोभासेमार्फत कप्तान कोपिलाले भनीन्, ‘मेरो लक्ष्य भनेको हाम्रो क्षेत्रबाट नेपाल राम्रो खेलेर विदेश गएर खेल्ने रहर छ ।” पोखरामा फुटबल खेल्न आएकी कञ्चनपुरकी बहिरा महिला फुटबल खेलाडी शर्मिला चौधरीको पनि चर्चित फुटबल खेलाडी बन्ने लक्ष्य रहेको छ । उनी सुदूरपश्चिम महिला बहिरा फुटबल टोलीको कप्तान छिन् । दक्षिणकाली बहिरा आवासीय माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कप्तान शर्मिलाले बहिरा खेलाडीले उचित अवसर र तालिम पाए अन्तरराष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने जानकारी दिएकी छिन् । दोभासेमार्फत शर्मिलाले भनीन्,’हामीहरुका लागि उचित अवसरसँगै तालिम हुने हो भने हामी पनि अरू जस्तै अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न सक्छौँ ।’

त्यस्तै, रेफ्री कवीरमान गुरुङले अन्य प्रतियोगिता खेलाउँदाभन्दा केही फरक अनुभूति भएको बताउनुभयो । बहिरा खेलाडीलाई खेलाउँदा सिटी फुक्नुको सट्टा झन्डा हल्लाउनुपर्ने बाहेक सबै नियम समान भएको उनको भनाइ छ  । ‘अरू खेलभन्दा बहिरा खेलाडीलाई खेलाउँदा केही फरक छ हुने नै भयो तर उनीहरु मज्जासँग खेल्न सक्छन्’, रेफ्री कवीरमानले भने, ‘उनको खेल हेर्दा राम्रो प्रशिक्षण पाउने हो भने सुन्ने व्यक्तिसँग प्रतिस्पर्धा गर्न सक्छन् ।’ बहिरा खेलाडीहरु पनि खेल्नका लागि सक्षम छ भन्ने सोचेर राज्यले लगानी गर्नुपर्ने दाभासेमार्फत बहिरा फुटबल खेल क्लब पोखराका सहसचिव सूर्यमोहन बरालले जनाएका छन् । बहिराहरुको पहिलो भाषा साङ्केतिक भाषा भएकाले राज्यले दोभासे उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

क्लबले यसभन्दा अघि बहिरा पुरुषको बीचमा प्र्रतियोगिता गर्दै आएको बताउँदै क्लबका सहसचिव बरालले यस वर्षदेखि महिलाका लागि पनि अवसर दिइएको जानकारी दिएका छन् । उनले बहिरा महिलाले पनि राम्रोसँग खेलेकाले आगामी वर्ष पनि बहिरा महिला फुटबलको आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् । कोशी, बागमती, सुदूरश्चिम र गण्डकी प्रदेशका दुई गरी पाँच टोलीको सहभागिता रहेको बहिरा महिला फुटबल प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको थियो ।

यस्तै, पोखरा रङ्गशालामा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ‘टाइब्रेकर’मा २-० गोलअन्तरले पराजित गर्दै बागमतीले उपाधि जितेको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइब्रेकरबाट लागेको थियो । उपाधि जितेको बागमतीले ट्रफीसहित रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता भएको सुदूरपश्चिमले रु ३० हजार,  ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्