Skip to content

मिडियामा सक्रिय आधा दर्जन ‘सबिना कार्की’, सबैजसो ‘लोकप्रिय’, दर्शक–पाठक नाममै अलमल

कालोपाटी

३ महिना अगाडि

काठमाडौँ । रेडियो कान्तिपुरमा कुनै समय सबिना कार्कीले सञ्चालन गर्ने कार्यक्रम ‘यो माया भन्ने चिज यस्तै हो’ निकै चर्चित थियो। उक्त कार्यक्रम मात्र होइन, उनले सञ्चालन गरेका अन्य कार्यक्रम पनि ‘हिट’ थिए। सुरिलो स्वर, मिठासपूर्ण प्रस्तुति र शैलीले उनले श्रोताको मन जितेकी थिइन्। पछि कान्तिपुर छोडेकी कार्की सामाजिक सञ्जालमा सक्रिय भइन् र अझै पनि लोकप्रिय छिन्। अहिले पनि सबिना कार्की भन्नासाथ धेरैले सम्झने गर्छन्— रेडियो कान्तिपुरकी सबिना कार्कीलाई।

खेल पत्रकारितामा पनि सबिना कार्की परिचित नाम हुन्। उनी हाल कान्तिपुर टेलिभिजनमा कार्यरत छिन्। लामो अनुभवसहित खेलकुदप्रति रुचि राख्ने कार्की प्रस्तुतिका कारण दर्शकमाझ लोकप्रिय छिन्। खेल पत्रकारितामा उनको विज्ञता र शैलीबारे खुलेर प्रशंसा हुने गर्छ।

त्यस्तै, सेतोपाटीमा कार्यरत सबिना कार्की पनि कम्ती चर्चित छैनन्। स्टार्टअपका छोटा, मिठा स्टोरीका लागि लोकप्रिय उनी पछिल्लो समय आर्थिक बिटमा सक्रिय छिन्। अहिले उनी सेतोपाटीमा ‘बिजनेस एक्सप्लेनर’ मा समेत देखिन्छिन्। छोटो समयमा ‘एभिएसन’ बिटमा छुट्टै नाम बनाउन सफल भएकी उनी नेपाल आर्थिक पत्रकार संघ (नाफिज) की पूर्व कार्यसमिति सदस्य पनि हुन्। आर्थिक पत्रकारितामा उनको छुट्टै छवि छ।

केही समयअघि प्राइम टाइम्स टेलिभिजनकी सबिना कार्की शिक्षक आन्दोलनमा घाइते भएपछि चर्चामा आएकी थिइन्। हाल भने उनले प्राइम टाइम्स छोडेर अर्को अनलाइनमा काम गरिरहेकी छिन्। पत्रकारिता अध्ययन गरेकी उनी पनि सिपालु रिपोर्टर र प्रस्तोताका रूपमा परिचित छिन्।

‘म सबिना कार्की’ – दर्शक अलमलमा
भिडियोमा सबैजना आफ्नै नाम सुनाउँछन्— ‘नमस्कार, म सबिना कार्की’। दर्शक भने अलमलमा पर्छन् ।
रेडियोमा लामो समय काम गरेकी पूर्व कान्तिपुरकर्मी सबिना कार्की अहिले सामाजिक सञ्जालमै चर्चित छिन्। उता, कान्तिपुर टेलिभिजनमा रिपोर्टिङ गर्ने सबिना कार्कीले पनि आफूलाई त्यही परिचय दिन्छिन्। सेतोपाटीमा भिडियोमा देखिने सबिना कार्कीले पनि दर्शकमाझ यही भन्छिन्। प्राइम टाइम्समा हुँदा कार्कीले ‘प्राइम टाइम्स टेलिभिजनका लागि सबिना कार्की, काठमाडौं’ भन्न गर्थिन्। अहिले अनलाइनमा काम गर्दा पनि उनी त्यही शैली दोहोर्याउँछिन्।

अनलाइन र रेडियोमा सक्रिय छन् फरक-फरक सबिना कार्की
कालोपाटीमा कार्यरत सबिना कार्कीको अनुभव भने फरक छ । उनले आफ्नो नाम धेरै ‘कन्फ्युजिङ’ भएकाले स्टोरीमा बाइलाइन राख्नै छोडेकी छन् ।
उनले भनिन्— ‘पहिला म अर्को एक अनलाइनमा काम गर्दा मेरा समाचारमा बाइलाइन आउँथ्यो । तर भिडियोमा नदेखिएकाले ‘त्यो फलानो अनलाइनकी सबिना कार्की अर्थ सरोकार आएकी हुन् ?’ भन्ने प्रश्न उठ्थ्यो । कतिपयले त ‘यी नानी रेडियोमा राम्रो बोल्थिन्, अब लेख्न पनि थालिछिन्’ भन्न थाले । त्यसपछि मैले भ्रम नपरोस् भनेर बाइलाइन नै राखिनँ । त्यहाँ सम्पादकले पनि अरु सबिना कार्कीहरुसँग पनि आफ्नो चिनजान भएकाले बजारमा भ्रम पर्न सक्छ, भिडियोमै देखिनुपर्यो पनि भन्नुभएको थियो । तर,  त्यहाँ पनि ‘नमस्कार, म सबिना कार्की’ भन्ने क्रममा फेरि अलमल हुने भएपछि म आफैँ अलमलमा परें । अहिले उनी डेस्कमै व्यस्त र खुसी छु ।

तर यतिमा मात्र सीमित छैनन्। अभियान टेलिभिजनकी प्रस्तोता अर्की सबिना कार्की अझै पनि आफ्ना दर्शकमाझ लोकप्रिय छिन्। त्यसैगरी, काठमाडौंकै अर्को रेडियोमा पनि सबिना कार्कीका कार्यक्रम आउँछन् । तर, धेरैले यो त अर्कै सविना कार्की रहेछिन् भनेर कमेन्ट गर्न थालेको अनुभव उनीसँग छ । उनले रेडियोमै पटक पटक आफु अर्कै सविना कार्की रहेको प्रष्टीकरणसमेत दिने गरेकी छिन् ।

विभिन्न पृष्ठभूमिका सबिना कार्की, अधिकांशको पढाई पत्रकारिता
सेतोपाटीमा कार्यरत सबिना कार्कीको पुर्ख्यौली घर दोलखा हो । उनी खबर हब डटकम हुँदै सेतोपाटीमा पुगेकी हुन्।
रेडियो कान्तिपुर र हाल कान्तिपुर टेलिभिजनमा काम गर्ने सबिना कार्की दुवै काठमाडौंमै हुर्किएका हुन् ।
प्राइम टाइम्समा काम गरेकी सबिना कार्की भने भोजपुर घर भएकी हुन् । कालोपाटीमा कार्यरत सबिना कार्की बिराटनगरकी हुन् । काठमाडौँको एक रेडियोमा काम गर्ने फरक सबिना कार्की काठमाडौँमै हुर्केकी हुन् । सबै हाल काठमाडौंमै पत्रकारितामा सक्रिय छन् । सक्रिय मात्र होइन, आ–आफ्नो बिटमा सबै लोकप्रिय पनि छन् । यी सबै सबिना कार्कीले पत्रकारिता नै अध्ययन गरेका छन्।

यसरी मिडियामा आधा दर्जन सबिना कार्की सक्रिय भएपछि दर्शक–पाठक नै नाममा अलमलमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्