Skip to content

प्रसाईंका मागले सरकार दबाबमा, आइतबारसम्म कुर्ने सहमति

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ – नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको छ। छलफलमा लघुवित्त, सहकारी समस्या तथा जेनजीका मागका विषयमा कुराकानी भएको प्रसाईंले जानकारी दिए।

प्रधानमन्त्रीसँगको भेटपछि प्रसाईंले सरकारका तर्फबाट आफ्ना मागबारे आइतबारसम्मको समय मागिएको र उक्त समयसम्म आफूहरू पर्खने सहमति भएको बताए। ‘मागबारे आइतबारसम्मको समय दिनुस् भन्नुभयो, आइतबार सहमति भए सोमबार क्याबिनेट बसेर हस्ताक्षर गर्ने कुरा भएको छ,’ उनले भने।

प्रसाईंले आफ्ना मागहरू सम्बोधन नभए फागुन २१ मा तोकिएको निर्वाचन हुन नसक्ने चेतावनी दिएका छन्। ‘एउटा पक्षलाई रुवाएर अर्को पक्ष मात्रै चुनावमा जान पाउँदैन,’ भन्दै उनले आफ्ना मागहरू ठूला नभएको दाबी गरे। उनले प्रधानमन्त्रीसँग घरजग्गा लिलाम नगर्न र प्रभावितलाई तिर्ने अवसर दिन आग्रह गरेको पनि बताए।

भेटका क्रममा भ्रष्टाचारविरुद्ध कारबाहीको विषय उठाउँदा प्रधानमन्त्रीले ‘त्यो सक्दैनौँ’ भन्ने जवाफ दिएको प्रसाईंको दाबी छ। साथै, उनले जनमत सङ्ग्रहमा जाने प्रस्ताव पनि राखेको बताए। ‘जनमत सङ्ग्रहमा जाऔँ भन्दा दुई तिहाइ बहुमतले जितेपछि मात्रै जान सकिन्छ भन्नुभयो,’ प्रसाईंले भने, ‘मैले तपाईं जुन बाटोबाट प्रधानमन्त्री बन्नुभयो, त्यही बाटोबाट जनमत सङ्ग्रह गर्न सकिन्छ भनेर सुझाव दिएको हुँ।’

यता, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले प्रसाईंसँगको वार्ता सकारात्मक भएको बताए। उनले हालको सरकारले पूरा गर्न सक्ने मागहरू कार्यान्वयनका लागि पहल गर्ने र बाँकी मागहरू चुनावपछिको सरकारले सम्बोधन गर्ने बताए।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल र अर्थमन्त्री रामेश्वर खनाल पनि सहभागी थिए। यसअघि पनि प्रसाईं नेतृत्वको समूहले गत मङ्सिर ६ देखि राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्